Online Bible

- Reklamy -

२ इतिहास 4 - नेपाली नयाँ संशोधित संस्करण


मन्दिरका सजाउने सामानहरू

1 तिनले बीस हात लामो, बीस हात चौड़ा र दश हात अल्‍गो काँसाको एउटा वेदी बनाए।

2 तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्‌कुँलो पनि बनाए। त्‍यसको बिट एक किनारदेखि अर्को किनारसम्‍म दश हात थियो, र त्‍यो पाँच हात अल्‍गो थियो। त्‍यसको वरिपरि फेरो नाप्‍नलाई तीस हातको नाप्‍ने फित्ता चाहिन्‍थ्‍यो।

3 खड्‌कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढ़ेहरू, एक हातमा दश वटा, दुई लहरमा थिए। खड्‌कुँलो र साँढ़ेहरू एउटै टुक्रा धातुबाट बनाइएका थिए।

4 त्‍यो खड्‌कुँलो बाह्र वटा साँढ़ेहरूमाथि बसालिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्‍चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनीहरूका पछाड़िका भागचाहिँ भित्रपट्टि फर्केका थिए। त्‍यो खड्‌कुँलोचाहिँ तिनैमाथि बसालिएको थियो।

5 त्‍यसको मोटाई चार अङ्‌गुल थियो। त्‍यसको बिट कचौराको बिटजस्‍तो फक्रेको लिली फूलजस्‍तै थियो। त्‍यसमा प्राय: छयसट्ठी हजार लिटर पानी अटाउँथ्‍यो।

6 तिनले दश वटा स्‍नान-भाँड़ाहरू पनि बनाए। ती तिनले पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू धुन्‍थे। खड्‌कुँलोचाहिँ पूजाहारीहरूले नुहाउनलाई प्रयोग गर्थे।

7 तिनले तोकिएबमोजिम दश वटा सुनका सामदान बनाए। ती तिनले मन्‍दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि।

8 तिनले दश वटा टेबिलहरू पनि बनाएर मन्‍दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। तिनले एक सय वटा सुनका छर्कने बाटाहरू बनाए।

9 तिनले पूजाहारीहरूको चोक, र ठूलो चोक र त्‍यसका ढोकाहरू बनाए, अनि ढोकाहरू काँसाले मोहोरे।

10 त्‍यो विशाल खड्‌कुँलोचाहिँ तिनले दक्षिणपट्टि, अर्थात्‌ मन्‍दिरको दक्षिण-पूर्व कुनामा राखे।

11 तिनले भाँड़ा, बेल्‍चा र छर्कने बाटाहरू पनि बनाए। यसरी हुरामले परमेश्‍वरको मन्‍दिरमा सोलोमन राजाको निम्‍ति आफूले जिम्‍मा लिएको काम सिद्ध्याए:

12 दुई स्‍तम्‍भहरू, स्‍तम्‍भका टुप्‍पामा कचौराको आकारका दुई स्‍तम्‍भ-शिरा, स्‍तम्‍भमाथि स्‍तम्‍भ-शिराहरू सजाउने दुई बुट्टादार र जालीहरू,

13 दुई जालीहरूका निम्‍ति चार सय दारिमहरू (दुई स्‍तम्‍भहरूका कचौराको आकार भएका स्‍तम्‍भ-शिरालाई ढाक्‍ने प्रत्‍येक जालीको निम्‍ति दुई लहर दारिमहरू),

14 ठेला-गाड़ीहरू, तिनका बाटाहरूसमेत,

15 एउटा विशाल खड्‌कुँलो र त्‍यसको मुन्‍तिर बाह्र वटा साँढ़ेहरू,

16 भाँड़ाहरू, बेल्‍चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्‍बन्‍धित सामानहरू। हुराम-अब्‍बीले परमेश्‍वरका मन्‍दिरको निम्‍ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्‍काइएका काँसाका थिए।

17 राजाले ती यर्दन नदीको मैदानमा सुक्‍कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए।

18 यी सबै थोक सोलोमनले यति धेरै संख्‍यामा बनाएका थिए, कि त्‍यसमा लागेको काँसाका ओजनको हिसाबै थिएन।

19 सोलोमनले परमेश्‍वरको मन्‍दिरका सबै सजाउने सामग्रीहरू पनि बनाए: सुनको वेदी, उपस्‍थितिको रोटी राखिने टेबिलहरू,

20 कञ्‍चन सुनका सामदानहरू, जसका बत्तीहरू विधिपूर्वक भित्री पवित्रस्‍थानमा बालिन्‍थे,

21 फूलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र असल सुनका चिम्‍टाहरू,

22 कञ्‍चन सुनका सलेदाका चिम्‍टाहरू, बाटाहरू, कचौराहरू र धुपौराहरू, अनि मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मुख्‍य खण्‍डका ढोकाहरू।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy