Online Bible

- Reklamy -

२ इतिहास 33 - नेपाली नयाँ संशोधित संस्करण


यहूदाका राजा मनश्शे

1 मनश्‍शे राजगद्दी आरोहण गर्दा बाह्र वर्षका थिए। तिनले पचपन्‍न वर्ष यरूशलेममा राज्‍य गरे।

2 परमप्रभुले इस्राएलीहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्‍दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्‍यही गरे।

3 तिनका पिता हिजकियाले नाश गरेका डाँड़ाका थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताहरूका निम्‍ति वेदीहरू खड़ा गरे, अनि अशेरा देवीका मूर्तिहरू बनाए। तिनले आकाशका सारा तारामण्‍डलको सामु निहुरेर तिनलाई पुजे।

4 तिनले परमप्रभुको मन्‍दिरमा वेदीहरू बनाए, जुन त्‍यस मन्‍दिरको विषयमा परमप्रभुले यसो भन्‍नुभएको थियो, “यरूशलेममा नै मेरो नाउँ सदासर्वदाको लागि रहनेछ।”

5 तिनले आकाशका सारा तारामण्‍डलको निम्‍ति परमप्रभुको मन्‍दिरका दुवै चोकमा वेदीहरू बनाए।

6 तिनले आफ्‍ना छोराहरूलाई बेन-हिन्‍नोमको बेँसीमा आगोमा होम गरे। तिनले टुनामुना गरे र जोखना हेरे। तिनले मन्‍त्रतन्‍त्र गरे र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई रीस उठाए।

7 तिनले बनाउन लाएको मूर्ति परमेश्‍वरको मन्‍दिरभित्र राखे, जुन मन्‍दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “मैले इस्राएलका सबै कुलहरूमध्‍ये चुनेको यो मन्‍दिर र यरूशलेममा म सदासर्वदाको निम्‍ति मेरो नाउँ राख्‍नेछु।

8 यदि तिनीहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशाले तिनीहरूलाई दिएका सबै विधिविधान र नियमहरू होशियारसित पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूलाई म फेरि पर हटाउनेछैनँ।”

9 तर परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गरेका जातिहरूले भन्‍दा पनि धेरै खराबी गरेर मनश्‍शेले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई कुपथमा चलाए।

10 मनश्‍शे र तिनका मानिसहरूसित परमप्रभु बोल्‍नुभयो, तर तिनीहरूले वास्‍ता गरेनन्‌।

11 यसैकारण परमप्रभुले तिनीहरूका विरुद्धमा अश्‍शूरका राजाका सेनापतिहरू ल्‍याउनुभयो। उनीहरूले मनश्‍शेलाई पक्रे, तिनको नाकमा बल्‍छी लगाए, र तिनलाई काँसाका साङ्‌लाले बाँधेर बेबिलोनमा ल्‍याए।

12 आफ्‍नो कष्‍टमा तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको निगाह खोजे, अनि आफ्‍ना पुर्खाहरूका परमेश्‍वरकहाँ विनम्र भएर झुके।

13 जब तिनले प्रार्थना गरे, तब परमेश्‍वरले तिनको अर्ज-बिन्‍ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्‍याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्‍नुभयो। तब मनश्‍शेलाई परमप्रभु नै परमेश्‍वर हुनुहुँदोरहेछ भन्‍ने थाहा भयो।

14 त्‍यसपछि तिनले गीहोन नदीको पश्‍चिमपट्टिदेखि ओफेल डाँड़ा घेरेर माछा ढोकासम्‍म दाऊदको सहरका बाहिरको पर्खाल फेरि बनाए। तिनले त्‍यो पर्खाल धेरै अल्‍गो बनाए। तिनले यहूदाका किल्‍ला भएका सबै सहरहरूमा सेनापतिहरू पनि खटाइदिए।

15 तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्‍दिरबाट हटाए, र मन्‍दिरको डाँड़ा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदीहरू पनि हटाइदिए अनि तिनले ती सबैलाई सहरबाट बाहिर फ्‍याँकिदिए।

16 त्‍यसपछि तिनले परमप्रभुको वेदी फेरि खड़ा गरेर त्‍यसमा मेलबलि र धन्‍यवाद बलि चढ़ाए, र यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए।

17 तापनि मानिसहरूले डाँड़ाका थानहरूमा बलिदानहरू चढ़ाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्‍वरको निम्‍ति मात्रै चढ़ाए।

18 मनश्‍शेको राजकालका अरू घटनाहरू, र तिनका परमेश्‍वरलाई चढ़ाएको तिनको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।

19 आफैलाई विनम्र तुल्‍याउन अघि तिनको प्रार्थना र परमेश्‍वरले कसरी तिनको अर्ज-बिन्‍ती ग्रहण गर्नुभयो, अनि तिनका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्‍बा र मूर्तिहरू— यी सबै दर्शीहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।

20 मनश्‍शे आफ्‍ना पित्रहरूसित सुते, र आफ्‍नो महलमा गाड़िए। तिनीपछि तिनका छोरा अमोन राजा भए।


यहूदाका राजा अमोन

21 राजगद्दी आरोहण गर्दा अमोन बाईस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्‍य गरे।

22 तिनका पिता मनश्‍शेले गरेझैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। तिनले आफ्‍ना पिता मनश्‍शेले बनाएका सबै मूर्तिहरूलाई बलिदान चढ़ाए र तिनको पूजा गरे।

23 तर आफ्‍ना पिता मनश्‍शेले झैँ तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन्‌। तिनको अपराध झन्‌ बढ़ी भयो।

24 अमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र तिनलाई तिनको आफ्‍नै महलमा मारे।

25 तब देशका मानिसहरूले राजा अमोनको विरुद्धमा ती सबै षड्‌यन्‍त्र गर्नेहरूलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy