२ इतिहास 28 - नेपाली नयाँ संशोधित संस्करणयहूदाका राजा आहाज 1 आहाज राजगद्दी आरोहण गर्दा बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दाऊदले गरेझैँ जे कुरो परमप्रभुको दृष्टिमा असल थियो त्यही गरेनन्। 2 तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, र बाल देवताहरूका निम्ति ढलौटे मूर्तिहरू बनाए। 3 तिनले बेन-हिन्नोमको बेँसीमा बलिदानहरू पनि चढ़ाए। इस्राएलको सामुन्नेबाट जुन जातिहरूलाई परमप्रभुले देशबाट निकाल्नुभएको थियो, उनीहरूकै घिनलाग्दा चालमा हिँड़ेर तिनले आफ्ना छोराहरूलाई आगोमा होम गरे। 4 तिनले अल्गा-अल्गा ठाउँहरू र डाँड़ाका टाकुराहरूमा र हरेक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढ़ाए र धूप बाले। 5 यसकारण परमप्रभु तिनका परमेश्वरले तिनलाई अरामका राजाको हातबाट हार खुवाउनुभयो। अरामीहरूले तिनलाई परास्त गरेर तिनका मानिसहरूमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे। तिनी इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई सम्पूर्ण परास्त गरे। 6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बीस हजार योद्धाहरूलाई मारे, किनभने यहूदाले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। 7 एक जना एफ्राइमी वीर जिक्रीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजाका मुख्य मन्त्री एल्कानालाई मारे। 8 इस्राएलीहरूले आफ्ना कुटुम्बका दुई लाख स्त्रीहरू र केटाकेटीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै लूटका मालहरू पनि लगेर सामरियामा ल्याए। 9 तर त्यहाँ ओदेद नाउँ भएका परमप्रभुका एक अगमवक्ता थिए, र सेना सामरियामा फर्किरहेको बेला तिनी त्यस सेनालाई भेट्न निस्के। तिनले त्यस सेनाका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्पिदिनुभएको हो। तर तिमीहरूले चाहिँ अत्यन्त रीसको झोँकमा तिनीहरूको संहार गर्यौ। 10 अब तिमीहरू यहूदा र यरूशलेमका मानिसहरू पुरुष र स्त्री दुवैलाई दास-दासी बनाउने इच्छा गर्दछौ। त्यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्वरको सामु दोषी हुँदैनौ? 11 अब मेरा कुरा सुन। आफ्ना कुटुम्बहरूबाट कैद गरेर ल्याएकाहरूलाई फर्काइदेओ, किनभने परमप्रभुको क्रोध तिमीहरूमाथि खनिएको छ।” 12 तब कुनै-कुनै एफ्राइमका प्रधानहरू, अर्थात् येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैका छोरा अमासाले युद्धबाट फर्केर आइरहेकाहरूलाई भेट्टाएर भने, 13 “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न। तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरू परमप्रभुको दृष्टिमा दोषी हुनेछौं। के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हामी त दोषी भइसकिहालेका छौं, र इस्राएलको विरुद्धमा उहाँको भयानक क्रोध आइपरेको छ।” 14 यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालसामानहरूचाहिँ अधिकारीहरू र सबै समुदायका उपस्थितिमा छोड़िदिए। 15 तिनीहरूले कैदीहरूलाई त्यही कामको निम्ति खटिएका मानिसहरूको जिम्मामा छोड़िदिए, अनि तिनीहरूले लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए। तिनीहरूले कैदीहरूलाई लुगा र जुत्ता लगाइदिए, अनि खानपान दिएर तेल पनि लगाइदिए। अनि साह्रै थाकेका र हिँड्न नसक्नेहरूलाई तिनीहरूले गधामा चढ़ाएर आफ्ना कुटुम्बहरूकहाँ खजूरका रूखहरूको सहर, अर्थात् यरीहोसम्म ल्याइदिए। त्यसपछि तिनीहरू आफै चाहिँ सामरियामा फर्के। 16 त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायता मागिपठाए। 17 किनभने एदोमीहरूले फेरि आक्रमण गरी यहूदालाई जितेर कैदी बनाई लगेका थिए। 18 पलिश्तीहरूले पनि पहाड़ र यहूदाको नेगेवका सहरहरू लुटे। उनीहरूले बेथशेमेश, अय्यालोन र गदेरोत, अनि सोखो, तिम्ना र गिम्जो, तिनका बस्तीहरूसमेत कब्जा गरेर अधिकार गरेका थिए। 19 इस्राएलका राजा आहाजको कारणले नै परमप्रभुले यहूदालाई विनम्र तुल्याउनुभएको थियो, किनभने यहूदामा तिनले दुष्टता बढ़ाएर तिनी परमप्रभुतर्फ साह्रै नै विश्वासघाती भएका थिए। 20 तब अश्शूरका राजा तिग्लत-पिलेसेर तिनलाई सहायता दिन आए, तर तिनलाई सहायता दिनुको सट्टा झन् तिनलाई कष्ट दिए। 21 आहाजले परमप्रभुको मन्दिर, राजाको महल र आफ्ना भारदारहरूबाट केही कुरा लिएर अश्शूरका राजालाई दिए, तर यी सबै व्यर्थ भयो। 22 यी नै राजा आहाज आफ्नो कष्टको समयमा झन्-झन् परमप्रभुप्रति विश्वासघाती भए। 23 तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूलाई बलिदान चढ़ाए, किनकि तिनले यो विचार गरे, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरे। यसकारण तिनीहरूले मलाई सहायता गरून् भनी म पनि तिनीहरूलाई बलिदान चढ़ाउनेछु।” तर वास्तवमा तिनीहरूले नै तिनको र सारा इस्राएलको पतन ल्याए। 24 आहाजले परमप्रभुको मन्दिरका भाँड़ाकुँड़ाहरू जम्मा गरेर लगे, अनि परमप्रभुको मन्दिरका ढोकाहरू पनि बन्द गरिदिए। तिनले यरूशलेमका सड़क-सड़कमा वेदीहरू बनाए। 25 अनि यहूदाका सहरैपिच्छे अरू देवताहरूलाई बलिदान चढ़ाउनका निम्ति डाँड़ाहरूका थानहरू बनाए। यसरी तिनले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए। 26 तिनको राजकालका घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्। 27 आहाज आफ्ना पित्रहरूसित सुते, र यरूशलेम सहरमा गाड़िए, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाड़ेनन्। तिनीपछि तिनका छोरा हिजकिया राजा भए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society