Online Bible

- Reklamy -

२ इतिहास 27 - नेपाली नयाँ संशोधित संस्करण


यहूदाका राजा योताम

1 योताम राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ सादोककी छोरी यरूशा थियो।

2 तिनका पिता उज्‍जियाहले झैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे, तर आफ्‍ना पिताझैँ तिनी परमप्रभुको मन्‍दिरमा पसेनन्‌। तापनि मानिसहरूचाहिँ आफ्‍ना दुष्‍ट चालमा लागिरहे।

3 तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको पुनर्निर्माण गरे, र आफैले डाँड़ाको पर्खाल खूब मरम्‍मत गरिदिए।

4 तिनले यहूदाको पहाड़ी देशमा सहरहरू बनाए, र वनका डाँड़ाहरूमा किल्‍ला र धरहराहरू बनाए।

5 योतामले अम्‍मोनीहरूका राजासँग युद्ध गरेर उनलाई परास्‍त गरे। अनि त्‍यस वर्ष अम्‍मोनीहरूले तिनलाई साढ़े तीन टन चाँदी, पच्‍चीस हजार मुरी गहूँ र पच्‍चीस हजार मुरी जौ दिए। उनीहरूले दोस्रो र तेस्रो वर्ष पनि त्‍यहीबमोजिम कर तिरे।

6 परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने आफ्‍नो चाल ठीक राखेकाले गर्दा योताम अत्‍यन्‍त शक्तिशाली भए।

7 योतामको राजकालका अरू घटनाहरू, तिनले गरेका सबै युद्ध र अरू काम इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌।

8 तिनी राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे।

9 तिनी आफ्‍ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा आहाज राजा भए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy