Online Bible

- Reklamy -

२ इतिहास 25 - नेपाली नयाँ संशोधित संस्करण


यहूदाका राजा अमस्याह

1 अमस्‍याह राजगद्दी आरोहण गर्दा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ यहोअदीन थियो। तिनी यरूशलेमकी थिइन्‌।

2 तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे, तर पूरा मनले त होइन।

3 तिनको हातमा राजकीय अधिकार स्‍थिर भएपछि आफ्‍ना पिता राजाको हत्‍या गर्ने अधिकारीहरूलाई तिनले मारे।

4 तर तिनले मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएको यसो भन्‍ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराहरूलाई चाहिँ मारेनन्‌: “बुबाहरूलाई छोराछोरीहरूका निम्‍ति र छोराछोरीहरूलाई बुबाहरूका निम्‍ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधहरूका निम्‍ति मरोस्‌।”

5 अमस्‍याहले यहूदाका मानिसहरूलाई भेला गराएर तिनीहरूका परिवार-परिवारअनुसार सारा यहूदा र बेन्‍यामीनका हजार र सयका सेनापतिहरूको अधीनमा राखिदिए। तिनले बीस वर्ष पुगेका र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरूलाई जम्‍मा गरे। तिनीहरूको संख्‍या तीन लाख थियो। ती सबै लड़ाइँ गर्न अनि भाला र ढाल चलाउन सक्‍नेहरू थिए।

6 तिनले एक सय चाँदीका तोड़ा तिरेर इस्राएलबाट एक लाख वीर योद्धाहरू लिए।

7 तर परमेश्‍वरका एक जना तिनीकहाँ आएर भने, “हे मेरा राजा, इस्राएली सेनालाई तपाईंसँग नलैजानुहोस्‌। परमप्रभु इस्राएलसँग हुनुहुन्‍न— एफ्राइमको कोही पनि मानिससँग हुनुहुन्‍न।

8 तपाईंले साहससित लड़ाइँमा लड्‌नुभए तापनि परमेश्‍वरले तपाईंलाई आफ्‍ना शत्रुहरूका सामु परास्‍त गर्नुहुनेछ, किनभने सहायता गर्ने, अथवा परास्‍त गर्ने उहाँको शक्ति छ।”

9 अमस्‍याहले परमेश्‍वरका जनलाई भने, “इस्राएली सेनाको निम्‍ति खर्च गरेको त्‍यो एक सय तोड़ाको विषयमा चाहिँ म के गरूँ त?” परमेश्‍वरका जनले जवाफ दिए, “परमेश्‍वरले तपाईंलाई त्‍यसभन्‍दा बढ़ी दिन सक्‍नुहुन्‍छ।”

10 यसैले अमस्‍याहले एफ्राइमबाट तिनीकहाँ आएको फौजलाई अलग गरेर घर पठाइदिए। यसले गर्दा तिनीहरू यहूदासित क्रोधित भए, र रीसले चूर भएर तिनीहरू घर फर्के।

11 त्‍यसपछि अमस्‍याहले हौसला लिएर आफ्‍ना फौजहरूलाई नूनको उपत्‍यकामा लगे, र त्‍यहाँ सेइरका दश हजार मानिसहरूलाई मारे।

12 यहूदाका फौजहरूले अरू दश हजार मानिसहरूलाई जीवित पक्रे, र उनीहरूलाई एउटा चट्टानको टाकुरामा लगेर तल खसालिदिए। त्‍यहाँ तिनीहरू सबै छिन्‍नभिन्‍न भए।

13 यसै बीचमा अमस्‍याहले लड़ाइँमा भाग नलिई घरमा पठाइदिएको त्‍यस फौजले यहूदाका सहरहरू सामरियादेखि लिएर बेथ-होरोनसम्‍म लुटे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै लूटका मालहरू लगे।

14 एदोमीहरूलाई परास्‍त गरेर फर्केपछि अमस्‍याहले सेइरका मानिसहरूका देवताहरू ल्‍याएर आफ्‍नै देवता बनाए। तिनले ती देवताहरूलाई पुजे, र तिनका निम्‍ति होमबलि चढ़ाए।

15 यसैले गर्दा परमप्रभु अमस्‍याहसँग रिसाउनुभयो। उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनलाई भने, “आफ्‍नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको पछि तपाईं किन लाग्‍नुभयो?”

16 जब तिनी बोलिरहेका थिए तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्‍लाहकार नियुक्त गरेका हौं र? चूप लाग। किन आफ्‍नो जीवन खतरामा पार्छौ?” ती अगमवक्ता चूप लाग्‍न अघि यसो भने, “मलाई थाहा छ कि तपाईंले यस्‍तो गरेर मेरो सल्‍लाह नसुन्‍नुभएको कारण परमेश्‍वरले तपाईंलाई नाश गर्ने निश्‍चय गर्नुभएको छ।”

17 त्‍यसपछि यहूदाका राजा अमस्‍याहले आफ्‍ना सल्‍लाहकारहरूसँग सल्‍लाह गरेपछि इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा येहोआशलाई यसो भनेर युद्धको निम्‍ति हाँक दिए, “आऊ, हामी एक-अर्काको सामना गरौं।”

18 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्‍याहलाई यो जवाफ पठाए, “लेबनानको एउटा सिउँड़ीले लेबनानकै एउटा देवदारुलाई यसो भनी पठायो, ‘तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ’। तब लेबनानको एउटा वन-पशु त्‍यताबाट भएर जाँदा त्‍यस सिउँड़ीलाई कुल्‍चिदियो।

19 ‘एदोमलाई जितें’ भनी तिमी भन्‍छौ, र तिम्रो शेखी बढ़्यो। आफ्‍नो घरमा नै बसिरहनू। आफ्‍नै र यहूदाको पनि पतन ल्‍याउन तिमी किन खतरामा पर्छौ?”

20 तर अमस्‍याहले यस कुरामा ध्‍यानै दिएनन्‌। यो त तिनीहरूलाई येहोआशको हातमा सुम्‍पिदिन परमेश्‍वरले युक्ति गर्नुभएको थियो, किनभने तिनीहरू एदोमका देवताहरूका पछि लागेका थिए।

21 यसैले इस्राएलका राजा येहोआश अगि बढ़े, अनि तिनी र यहूदाका राजा अमस्‍याह यहूदाका बेथ-शेमेशमा भिड़िए।

22 यहूदाका मानिसहरू इस्राएलद्वारा पराजित भए, र तिनीहरू सबै आ-आफ्‍नो घरमा भागे।

23 इस्राएलका राजा येहोआशले अहज्‍याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्‍याहलाई बेथ-शेमेशमा पक्रेर यरूशलेममा ल्‍याए। तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्‍म चार सय हात लामो सहरको पर्खाल भत्‍काइदिए।

24 तिनले ओबेद-एदोमको जिम्‍मामा राखिदिएका, परमप्रभुको मन्‍दिरमा भेट्टाएका सबै सुन र चाँदी र सबै भाँड़ाहरू, र राजमहलमा भएका बहुमूल्‍य थोकहरू र राजकैदीहरूलाई पनि लगे, अनि तिनी सामरियामा फर्के।

25 इस्राएलका राजा यहोआहाजका छोरा येहोआशभन्‍दा यहूदाका राजा योआशका छोरा अमस्‍याह पन्‍ध्र वर्ष ज्‍यादा बाँचे।

26 अमस्‍याहको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

27 अमस्‍याह परमप्रभुबाट तर्केर गएको दिनदेखि नै यरूशलेममा तिनको विरुद्ध षड्‌यन्‍त्र भइरहेको थियो, र तिनी लाकीशमा भागेर गए। तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाएर तिनलाई त्‍यहीँ मारे।

28 त्‍यसपछि तिनीहरूले तिनको लाश घोड़ामाथि बोकाएर यरूशलेममा ल्‍याए। तिनी त्‍यहाँ आफ्‍ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy