२ इतिहास 19 - नेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा कुशलसाथ फर्केपछि, 2 हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए। येहूले यहोशापातलाई भने, “के दुष्टलाई सहायता र परमप्रभुका शत्रुहरूसँग मित्रता गरेर तपाईं खुशी हुनुहुन्छ? यसैकारण परमप्रभुको क्रोध तपाईंमाथि आइपर्नेछ। तपाईंले दु:ख पाउनुहुनेछ। 3 तापनि तपाईंमा केही असल कुरो छ, किनभने तपाईंले अशेरा देवीका मूर्तिहरूलाई देशबाट हटाइदिनुभएको छ, र परमप्रभुलाई खोज्न तपाईंले मन लाउनुभएको छ।” यहोशापातले न्यायकर्ताहरू नियुक्त गरेका 4 यहोशापातको निवासस्थान यरूशलेममा थियो। तिनी फेरि बेर्शेबाका मानिसहरूकहाँ एफ्राइमको पहाड़ी देशमा गएर तिनीहरूलाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ फर्काएर ल्याए। 5 तिनले देशभरि नै यहूदाको हरेक सुरक्षित सहरमा तिनले न्यायकर्ताहरू नियुक्त गरे। 6 तिनले तिनीहरूलाई भने, “तिमीहरू जे गर्छौ, त्यसमा सतर्क होओ। किनभने मानिसहरूका निम्ति होइन तर तिमीहरूले न्यायको फैसला सुनाउँदा तिमीहरूसित हुनुहुने परमप्रभुको निम्ति तिमीहरू न्याय गर्दछौ। 7 अब परमप्रभुको भय तिमीहरूमा रहोस्। तिमीहरू होशियारीसाथ न्याय गर, किनभने परमप्रभु हाम्रा परमेश्वर अन्याय, पक्षपात र घूस लिएको सहनुहुन्न।” 8 यहोशापातले यरूशलेममा पनि कति लेवी, पूजाहारी र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई परमप्रभुको व्यवस्था कायम राख्न र मानिसहरूका बीचमा न्याय गर्न नियुक्त गरे। 9 तिनले तिनीहरूलाई यी आदेश दिए: “तिमीहरूले सधैँ परमेश्वरको भय राखेर विश्वाससित तनमनले काम गर्नुपर्छ। 10 सबै मुद्दा जो सहरमा बस्ने तिमीहरूका कुटुम्बहरूबाट तिमीहरूका सामु आउँछन्— मुद्दाहरू हत्यासम्बन्धी होऊन्, अथवा व्यवस्था वा आज्ञा धर्म-विधि अथवा नियमहरूका विरुद्धमा होऊन्— तिमीहरूले तिनीहरूलाई परमप्रभुको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू। नत्रता तिमीहरू र तिमीहरूका कुटुम्बमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ। 11 “परमप्रभुसम्बन्धी विषयमा मुख्य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्। राज्यसम्बन्धी विषयमा यहूदाका कुलनायक इश्माएलका छोरा जबदियाह अधिकारी छन्। लेवीहरूचाहिँ तिमीहरूका सामुन्ने अधिकृतहरूझैँ सेवा गर्नेछन्। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society