२ इतिहास 18 - नेपाली नयाँ संशोधित संस्करणआहाबको विरूद्धमा मीकायाले अगमवाणी गरेका 1 यहोशापात साह्रै धनी र प्रसिद्ध भए, अनि तिनले आहाबसित वैवाहिक सम्बन्ध जोड़े। 2 केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए। आहाबले तिनी र तिनका लावालश्करको निम्ति धेरै भेड़ा र गोरुहरू मारे, र रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई उक्साए। 3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “रामोत-गिलादमाथि आक्रमण गर्न तपाईं मलाई साथ दिनुहुन्छ?” तिनले जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्तै हुन्। यस लड़ाइँमा म तपाईंलाई साथ दिनेछु।” 4 तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्लाह लिनुहोस्।” 5 तब इस्राएलका राजाले चार सय जति अगमवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादमाथि आक्रमण गरूँ कि नगरूँ?” तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनभने परमेश्वरले त्यो तपाईंको हातमा सुम्पिदिनुहुनेछ।” 6 तर यहोशापातले सोधे, “सल्लाह लिन यहाँ परमप्रभुका अगमवक्ता कोही छैन?” 7 इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “परमप्रभुबाट सल्लाह लिनलाई अझै एक जना त छन्, तर म ती मानिसलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवाणी कहँदैनन्। तिनी खराबी मात्र भन्दछन्। तिनी यिम्लाका छोरा मीकाया हुन्।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न।” 8 तब इस्राएलका राजाले आफ्ना अधिकारीहरूमध्ये एक जनालाई बोलाएर भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै ल्याऊ।” 9 इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खलानजिक आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए। 10 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यही भन्नुहुन्छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्म उनीहरू नष्ट हुँदैनन् तबसम्म हान्नुहुनेछ’।” 11 अरू सबै अगमवक्ताहरूले त्यस्तै अगमवाणी कहिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि चढ़ाइ गरेर विजयी हुनुहोस्। किनकि परमप्रभुले त्यो राजाको हातमा सुम्पिदिनुहुनेछ।” 12 मीकायालाई बोलाएर ल्याउने समाचारवाहकले तिनलाई भन्यो, “हेर्नुहोस् अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेछन्। तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, प्रसन्न कुरा भन्नुहोस्।” 13 तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्दछु, मेरा परमेश्वरले मलाई जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु।” 14 जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔं, कि नजाऔं?” तिनले भने, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्, किनकि त्यो तपाईंको हातमा पर्नेछ।” 15 राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्ट शपथ खान लगाऊँ?” 16 तब मीकायाले भने, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेड़ाहरूझैँ डाँड़ाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले यसो भन्नुभयो, “यी मानिसहरूका मालिक छैनन्। हरेक शान्तिसित घर जाओस्’।” 17 इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्ति खराबबाहेक असल अगमवाणी कहँदैनन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?” 18 मीकायाले अझै भने, “यसैकारण परमप्रभुको यो वचन सुन्नुहोस्: मैले परमप्रभुलाई स्वर्गका आफ्ना सबै सेना उहाँका दाहिने र देब्रेपट्टि भई आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखें। 19 अनि परमप्रभुले भन्नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ त्यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’ 20 “एउटाले यस्तो र अर्काले अर्को सल्लाह दियो। आखिरमा एउटा आत्मा अगि आएर परमप्रभुको सामुन्ने उभिएर भन्यो, ‘म त्यसलाई बहकाउनेछु’। 21 “परमप्रभुले सोध्नुभयो, ‘कसरी?’ “त्यसले भन्यो, ‘म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने एउटा आत्मा हुनेछु’। “परमप्रभुले भन्नुभयो, ‘त्यसलाई बहकाउन तँ सफल हुनेछस्। जा, गएर त्यसै गर्।’ 22 “त्यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमेश्वरले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।” 23 तब केनानका छोरा सिदकियाह माथि आएर मीकायाको मुखैमा थप्पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्मा मबाट तिमीसँग बोल्नलाई जानुभयो त?” 24 मीकायाले जवाफ दिए, “त्यो त तिमी आफै भित्री कोठामा लुक्न गएको दिन पो तिमीले थाहा पाउनेछौ।” 25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्मामा सुम्पिदेओ, र भन, 26 ‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई कैदखानामा राख, र म कुशलसित नआउञ्जेल त्यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ’।” 27 मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्यान देओ!” आहाब रामोत-गिलादमा मारिएका 28 तब इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा उक्लेर गए। 29 इस्राएलका राजाले यहोशापातलाई भने, “म गुप्त भेषमा लड़ाइँमा जानेछु, तर तपाईं आफ्नो राजसी पोशाक नै लाउनुहोस्।” अनि इस्राएलका राजा गुप्त भेषमा लड़ाइँमा गए। 30 अरामका राजाले आफ्ना रथहरूका सेनापतिहरूलाई इस्राएलका राजाबाहेक अरू साना-ठूलासित लड़ाइँ नगर्नू भन्ने हुकुम दिएका थिए। 31 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले तिनलाई नै इस्राएलका राजा भनिठानेर तिनलाई आक्रमण गर्न फर्के। तर यहोशापातले चर्को सोरले कराए। अनि परमप्रभु तिनको सहायताको निम्ति आउनुभयो, र परमेश्वरले ती रथका सेनापतिहरूलाई तिनीतर्फबाट अर्कोतिर लानुभयो। 32 किनकि सेनापतिहरूले तिनी त इस्राएलका राजा होइन रहेछन् भनी जानेपछि उनीहरूले तिनलाई आक्रमण गर्न छोड़िदिए। 33 तर कसैले आफ्नो धनु तानेर जथाभाबी काँड़ हानिपठायो, र त्यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्यो। राजाले आफ्नो सारथिलाई भने, “रथ घुमाएर मलाई रणभूमिको बाहिर लैजा। मलाई चोट लाग्यो।” 34 लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहेका थिए। तिनी साँझसम्म त्यही अवस्थामा रहे, र सूर्यास्त हुँदा तिनी मरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society