२ इतिहास 17 - नेपाली नयाँ संशोधित संस्करणयहूदाका राजा यहोशापात 1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्ने अठोट गरे। 2 तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे। 3 तिनी आफ्ना पिताले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिँड़े। तिनी बाल देवताहरूको पछि लागेनन्, 4 तर तिनले आफ्ना पिताका परमेश्वरलाई खोजे, र उहाँका आज्ञाहरू पालन गरे। तिनी इस्राएलका चालमा चलेनन्। 5 परमप्रभुले तिनको शासनमुनि तिनको राज्य स्थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्पत्ति र ख्याति साह्रै बढ़्यो। 6 परमप्रभुका मार्गमा हिँड्न तिनी गर्व गर्थे। यसबाहेक तिनले यहूदाबाट डाँड़ाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाइदिए। 7 आफ्नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए। 8 तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात् शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम। 9 परमप्रभुका व्यवस्थाको पुस्तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए। 10 यहूदाको वरिपरि भएका देशका राज्यहरूमाथि परमप्रभुको भय पर्यो, र उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्। 11 कुनै-कुनै पलिश्तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्याए। 12 यहोशापात झन् शक्तिशाली भए। तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए। 13 यहूदाका सहरहरूमा तिनले प्रशस्त खानेकुरा सञ्चय गरे। यरूशलेममा तिनका खूबै तालीम पाएका योद्धाहरू थिए। 14 तिनीहरू आ-आफ्नो परिवारअनुसार यसरी भर्ती भएका थिए: यहूदाबाट सेनानीहरू: सेनापति अदनाह र तिनका साथमा तीन लाखको फौज। 15 तिनीपछि सेनापति येहोहानान र तिनका साथमा दुई लाख असी हजारको फौज। 16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले परमप्रभुका सेवाको निम्ति स्वयंसेवकको काम गर्थे। तिनका साथमा दुई लाखको फौज थियो। 17 बेन्यामीनबाट: एक जना वीर योद्धा एल्यादा र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज। 18 तिनीपछि यहोजाबाद र तिनका साथमा हातहतियारले सुसज्जित भएका एक लाख असी हजारको फौज। 19 यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society