Online Bible

- Reklamy -

२ इतिहास 15 - नेपाली नयाँ संशोधित संस्करण


आसाको सुधार

1 परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि उत्रनुभयो।

2 तिनी आसालाई भेट गर्न निस्‍केर तिनलाई भने, “हे आसा, सबै यहूदा र बेन्‍यामीन, मेरा कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्‍छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई खोज्‍यौ भने, उहाँ तिमीहरूबाट भेट्टाइनुहुनेछ। तिमीहरूले उहाँलाई त्‍याग्‍यौ भने उहाँले पनि तिमीहरूलाई त्‍याग्‍नुहुनेछ।

3 धेरै समयसम्‍म त इस्राएल साँचो परमेश्‍वर, सिकाइदिने पूजाहारी र व्‍यवस्‍थाविना थियो।

4 तर जब आफ्‍नो कष्‍टमा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्केर उहाँलाई खोजे, तब तिनीहरूले पाऊन्‌ भनी उहाँ स्‍वयम्‌ प्रकट हुनुभयो।

5 मानिसहरू आ-आफ्‍ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्‌। सारा देशका बासिन्‍दाहरूले हुनसम्‍मको कष्‍ट भोग्‍नुपर्‍यो।

6 एउटा राष्ट्रले अर्कोलाई अत्‍याचार गर्दै थियो, एउटा सहरले अर्को सहरलाई किनभने परमेश्‍वरले तिनीहरूलाई सबै किसिमका दु:ख दिएर सताउनुभएको थियो।

7 तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्‌। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”

8 जब आसाले यी कुरा र ओदेद अगमवक्ताका छोरा अजर्याहको अगमवाणी सुने, तब तिनको साहस बढ़्यो। तिनले सारा यहूदा र बेन्‍यामीन र तिनले कब्‍जा गरेका एफ्राइमका पहाड़ी देशका सहरहरूबाट घिनलाग्‍दा मूर्तिहरू सबै हटाइदिए। तिनले परमप्रभुको मन्‍दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्‍मत गरे।

9 त्‍यसपछि तिनले सारा यहूदा र बेन्‍यामीन र एफ्राइम, मनश्‍शे र शिमियोनबाट तिनीहरूसँग बस्‍न आएकाहरूलाई भेला गरे। किनभने परमप्रभु तिनका परमेश्‍वर तिनीसँग हुनुभएको देखेर इस्राएलबाट धेरै संख्‍यामा मानिसहरू तिनीतर्फ आएका थिए।

10 आसाका राजकालको पन्‍ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए,

11 अनि त्‍यस बेला तिनीहरूले ल्‍याएको लूटका मालबाट सात सय साँढ़े र सात हजार भेड़ाबाख्रा बलिदान चढ़ाए।

12 तिनीहरूले आफ्‍ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोज्‍न करार बाँधे।

13 अनि परमप्रभु इस्राएलका परमेश्‍वरलाई नखोज्‍ने सबै ठूला र साना, स्‍त्री र पुरुषलाई मार्ने तिनीहरूले निश्‍चय गरे।

14 ठूलो सोरले चिच्‍च्‍याएर तुरही र नरसिङ्गा बजाउँदै तिनीहरूले स्‍वयम्‌ परमप्रभुको शपथ खाएर बाचा बाँधे।

15 सारा यहूदा यो शपथ खाएकाले गर्दा आनन्‍दित भए, किनभने तिनीहरूले आफ्‍ना पूरा मनले परमेश्‍वरलाई यत्‍नपूर्वक खोजेका थिए। अनि उहाँ पनि तिनीहरूले पाऊन्‌ भनी स्‍वयम्‌ प्रकट हुनुभयो। यसैले परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभयो।

16 आसा राजाले आफ्‍नी बज्‍यै माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने अशेरा देवीको घिनलाग्‍दो मूर्ति तिनले राखेकी थिइन्‌। आसाले त्‍यो काटेर ढालिदिए, र त्‍यसलाई धूलोपीठो पारेर किद्रोन खोल्‍सामा जलाइदिए।

17 डाँड़ाहरूमा भएका अल्‍गा थानहरू इस्राएलमा रहन दिए तापनि आसा आफ्‍नो जीवनकालभरि नै परमप्रभुका विश्‍वासी भइरहे।

18 तिनले आफ्‍ना पिता र तिनी आफैले अर्पण गरेका सुन, चाँदी र पवित्र भाँड़ाकुँड़ाहरू परमप्रभुको मन्‍दिरमा ल्‍याए।

19 आसाको राजकालको पैँतीसौँ वर्षसम्‍म कुनै युद्ध भएन।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy