Online Bible

- Reklamy -

२ इतिहास 12 - नेपाली नयाँ संशोधित संस्करण


यहूदामाथि शीशकको आक्रमण

1 रहबामको राज्‍य स्‍थिर भएर तिनी शक्तिशाली भएपछि तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— तिनी र तिनीसँग जम्‍मै इस्राएलले

2 रहबामको शासनकालको पाँचौँ वर्षमा परमप्रभुको विरुद्धमा तिनीहरू विश्‍वासघाती भएकाले गर्दा

3 मिश्रदेशका राजा शीशकले बाह्र सय रथ र साठी हजार घोड़चढ़ी लिएर यरूशलेममाथि आक्रमण गरे। अनि शीशकको साथ मिश्रदेशबाट आएका असंख्‍य लिबियाली, सुक्‍किया र कूशीहरू पछि लागेका थिए।

4 यहूदाका सुरक्षित सहरहरू जित्‍दै तिनी यरूशलेममा आइपुगे।

5 तब रहबामलाई र शीशकको आक्रमणदेखि बाँच्‍नलाई यरूशलेममा भेला भएका यहूदाका कुलनायकहरूलाई शमायाह अगमवक्ताले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले मलाई त्‍यागेका छौ, यसैकारण अब म तिमीहरूलाई शीशकको हातमा सुम्‍पिदिनेछु।”

6 तब इस्राएलका कुलनायकहरू र राजाले विनम्र भएर भने, “परमप्रभु न्‍यायी हुनुहुन्‍छ।”

7 परमप्रभुले तिनीहरूलाई विनम्र भएका देखेर उहाँबाट शमायाहकहाँ यो वचन आयो: “तिनीहरूले आफैलाई विनम्र तुल्‍याएका हुनाले म तिनीहरूलाई विनाश गर्नेछैनँ, तर म तिनीहरूलाई उम्‍कन दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममा म खन्‍याउनेछैनँ।

8 तापनि तिनीहरू त्‍यसका दास हुनेछन्‌। तब तिनीहरूले मेरो सेवा गर्न र अरू देशका शासकहरूको सेवा गर्नमा के भिन्‍नता रहेछ सो थाहा पाउनेछन्‌।”

9 मिश्रदेशका राजा शीशकले यरूशलेममाथि चढ़ाइ गरेपछि तिनले परमप्रभुको मन्‍दिर र राजाको महलका भण्‍डारका सबै थोकहरू लुटे, अनि सोलोमनले बनाएका सुनका सबै ढालहरू पनि तिनले जफत गरे।

10 यसकारण रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको प्रवेशद्वार रक्षा गर्ने रक्षकहरूका अधिकृतहरूको जिम्‍मामा राखे।

11 जहिले पनि राजा परमप्रभुको मन्‍दिरमा गए, तहिले रक्षकहरू ती ढालहरू बोकेर तिनीसँग जान्‍थे। त्‍यसपछि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती राख्‍थे।

12 रहबामले आफूलाई विनम्र तुल्‍याएकाले गर्दा परमप्रभुको क्रोध तिनीबाट हट्यो, र तिनी पूरै नष्‍ट भएनन्‌। अनि यहूदाको उन्‍नति पनि भइरह्यो।

13 यरूशलेममा राजा रहबामको शक्ति बढ्‌दैगयो। तिनी सिंहासन आरोहण गर्दा एकचालीस वर्षका थिए, अनि परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अम्‍मोनी नामा थियो।

14 तिनले जे खराब थियो त्‍यही गरे, किनभने तिनले परमप्रभुको अगुवाइ खोज्‍न कोशिश गरेनन्‌।

15 रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म वंशावलीअनुसार शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा लेखिएका छैनन्‌ र? रहबाम र यारोबामका बीचमा निरन्‍तर लड़ाइँ भइरह्यो।

16 रहबाम आफ्‍ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अबिया राजा भए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy