Online Bible

- Reklamy -

२ इतिहास 11 - नेपाली नयाँ संशोधित संस्करण

1 जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले आफ्‍नो निम्‍ति राज्‍य फिर्ता लिन इस्राएलको विरुद्धमा लड़ाइँ गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे।

2 तर परमप्रभुको यो वचन परमेश्‍वरका जन शमायाहकहाँ आयो:

3 “सोलोमनको छोरो यहूदाको राजा रहबामलाई र यहूदा र बेन्‍यामीनमा भएका सबै इस्राएलीहरूलाई भन्,

4 ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरू आफ्‍ना दाजुभाइहरूको विरुद्धमा युद्ध गर्न उक्‍लेर नजाओ। तिमीहरू हरेक आ-आफ्‍नो घरमा फर्केर जाओ, किनभने यो काम मैले गरेको हो’।” यसैकारण तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आफ्‍नो धावा त्‍यागिदिए।


रहबामले यहूदालाई सुरक्षित बनाएका

5 रहबाम यरूशलेममा वास गरे, र तिनले यहूदाका कुनै-कुनै सहरका गढ़ीहरू सुरक्षित बनाए।

6 तिनले सुरक्षित बनाएका यहूदा र बेन्‍यामीनमा भएका सहरहरू यी नै थिए:

7 बेथलेहेम, एताम, तको,

8 बेथ-सर, सोखो, अदुल्‍लाम, गात, मारेशा, जीप,

9 अदोरेम, लाकीश, आजेका,

10 सोरा, अय्‍यालोन र हेब्रोन।

11 तिनले ती सहरका गढ़ीहरू सुदृढ़ पारे, र तिनमा राज्‍यपालहरूलाई नियुक्त गरे, अनि खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्‍चय गरिदिए।

12 तिनले प्रत्‍येक सहरमा ढाल र भालाहरू जम्‍मा गरेर राखे, र तिनका गढ़ीहरू सुदृढ़ पारे। यसरी तिनले यहूदा र बेन्‍यामीनमाथि आफ्‍नो अधिकार कायम राखे।

13 जम्‍मै इस्राएलका चारैतिरबाट पूजाहारीहरू र लेवीहरू आ-आफ्‍ना इलाकाहरूबाट रहबामकहाँ आए।

14 लेवीहरू आफ्‍ना सबै खर्क र पैतृक-जग्‍गाजमिनहरू छोड़ेर यहूदा र यरूशलेममा बस्‍न आए, किनकि यारोबाम र तिनका सन्‍तानहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारीगिरीबाट वञ्‍चित गरेका थिए।

15 डाँड़ाका अल्‍गा थानहरू र तिनले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्‍नै पूजाहारीहरू नियुक्त गरे।

16 परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न अठोट गर्ने इस्राएलका सबै कुलबाट आएकाहरूचाहिँ परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढ़ाउन यरूशलेममा जाने लेवीहरूका पछि लागे।

17 तिनीहरूले यहूदाको राज्‍य स्‍थिर गरेर तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार हिँड़े।

18 रहबामले महलतलाई विवाह गरे। तिनका पिता दाऊदका छोरा यरीमोत र आमाचाहिँ यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन्‌।

19 तिनीबाट रहबामका यी छोराहरू भए: येऊश, शमरयाह र साहम।

20 त्‍यसपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे। तिनीबाट तिनका यी सन्‍तान भए: अबिया, अत्तै, जीजा र शलोमीत।

21 आफ्‍ना सबै पत्‍नी र उपपत्‍नीहरूमध्‍ये रहबामले माकालाई ज्‍यादै प्रेम गर्थे। तिनका जम्‍मा अठाह्र पत्‍नी र साठी उपपत्‍नीहरू थिए। तिनी अट्ठाईस जना छोरा र साठी छोरीहरूका पिता भए।

22 रहबामले माकाका छोरा अबियालाई युवराज बनाएर आफूपछि सिंहासनमा बसाल्‍न योजना बनाई उनलाई आफ्‍ना सबै दाजुभाइहरूमध्‍ये सबैभन्‍दा मुख्‍य नियुक्त गरे।

23 यहूदा र बेन्‍यामीनका जम्‍मै इलाकाहरू र सबै सुरक्षित सहरहरूको जिम्‍मा आफ्‍ना कोही छोराहरूलाई दिएर तिनले आफ्‍नो बुद्धिमानी देखाए। तिनले तिनीहरूका निम्‍ति प्रशस्‍त खानेकुरा सञ्‍चय गरे, र तिनीहरूका निम्‍ति पत्‍नी पनि लिए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy