Online Bible

- Reklamy -

१ तिमोथी 1 - नेपाली नयाँ संशोधित संस्करण

1 हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञाअनुसार ख्रीष्‍ट येशूको प्रेरित पावलबाट,

2 विश्‍वासमा मेरो साँचो बालक तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्‍ति मिलोस्‌।


झूटा शिक्षकहरूका विरुद्धमा चेताउनी

3 म माकेडोनिया जाँदा तिमीलाई आग्रह गरेझैँ तिमी एफिससमै बस, र झूटा शिक्षा सिकाउने मानिसहरूलाई त्‍यसो नगर्नू भनी कड़ा आज्ञा देऊ।

4 र तिनीहरू अनुमानका कुराहरू मात्र बढ़ाउने दन्‍त्‍य-कथाहरू र नटुङ्गिने वंशावलीहरूतिर नलागून्, बरु विश्‍वासमा रहेको ईश्‍वरीय तालीमतिर लागून्‌।

5 हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउँछ।

6 कुनै-कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अलमलिएका छन्‌।

7 तिनीहरू व्‍यवस्‍थाका शिक्षक हुने इच्‍छा गर्छन्, तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्‍दैनन्‌।

8 हामी जान्‍दछौं कि यदि कसैले उचित रूपले पालन गर्‍यो भने व्‍यवस्‍था असल छ।

9 हामी यो पनि जान्‍दछौं कि व्‍यवस्‍था असल मानिसको निम्‍ति होइन, तर व्‍यवस्‍था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्‍ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्‍ति, ज्‍यानमाराहरूका निम्‍ति,

10 व्‍यभिचारीहरूका निम्‍ति, पुरुषगामीहरूका निम्‍ति, अपहरणकारीहरूका निम्‍ति, झूटा बोल्‍नेहरूका निम्‍ति, झूटा गवाही दिनेहरूका निम्‍ति, र सत्‍य सिद्धान्‍तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्‍ति हो।

11 यो मलाई सुम्‍पिएका परमधन्‍य परमेश्‍वरको महिमित सुसमाचारअनुसार छ।


पावललाई प्रभुको अनुग्रह

12 मलाई सामर्थ्‍य दिनुहुने ख्रीष्‍ट येशू हाम्रा प्रभुलाई म धन्‍यवाद दिन्‍छु, किनभने आफ्‍नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्‍वासयोग्‍य ठान्‍नुभयो।

13 अगाडि मैले निन्‍दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्‍वासमा गरेको हुनाले मैले कृपा पाएँ।

14 ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ मेरो निम्‍ति हाम्रा प्रभुको अनुग्रह प्रशस्‍त मात्रामा उर्लिआयो।

15 यो वचन हरप्रकारले ग्रहणयोग्‍य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्‍ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्‍दा मुख्‍य हुँ।

16 तर यसकारण मैले कृपा पाएँ, कि पापीहरूमा सबैभन्‍दा मुख्‍य भएर पनि मद्वारा येशू ख्रीष्‍टले आफ्‍नो असीम धैर्य प्रकट गर्न सकून्, ताकि उहाँमाथि विश्‍वास गरेर अनन्‍त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्‍न सकूँ।

17 युग-युगका राजा, अविनाशी र अदृश्‍य एकमात्र परमेश्‍वरलाई आदर र महिमा सदासर्वदा होस्‌। आमेन।

18 मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु, कि तिम्रो सम्‍बन्‍धमा अघि कहिएको अगमवाणीअनुसार तीद्वारा प्रेरणा पाएर विश्‍वास र असल विवेक कायम राख्‍दै तिमी असल लड़ाइँ लड्‌न सक।

19 विश्‍वास र स्‍वच्‍छ विवेक कायम राख। कुनै-कुनै मानिसले विवेकलाई इन्‍कार गरेर आफ्‍नो विश्‍वासको जहाज डुबाएका छन्‌।

20 तीमध्‍ये हुमेनियस र अलेक्‍जेन्‍डर हुन्, जुनहरूलाई निन्‍दा नगर्नू भन्‍ने कुरा सिकून्‌ भनेर मैले शैतानको हातमा सुम्‍पेको छु।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy