१ शमूएल 9 - नेपाली नयाँ संशोधित संस्करणशमूएल र शाऊलको भेट 1 बेन्यामीनको कुलका एक जना मान्य मानिस थिए, जसको नाउँ कीश थियो। तिनी अबीएलका छोरा, जरोरका नाति, बकोरतका पनाति र आपीहका जनाति थिए। 2 जवान अवस्थामा पुगेका आकर्षक शाऊल नाउँ भएका तिनका एक जना छोरा थिए। त्यस बेला इस्राएलमा उनको बराबरीको कोही थिएन। उनी सबैभन्दा एक टाउको जति अग्ला थिए। 3 एक दिन शाऊलका पिता कीशका केही गधाहरू हराए। यसकारण तिनले आफ्ना छोरा शाऊललाई भने, “एक जना नोकरलाई लिएर गधाहरू खोज्न जाऊ।” 4 उनी एफ्राइमको पहाड़ी देशबाट पार गरेर शलीशाको जिल्ला भएर गए, तर ती भेट्टाउन सकेनन्। उनीहरू शालीमको जिल्ला भएर गए, तर त्यहाँ पनि गधाहरू थिएनन्। उनीहरू बेन्यामीनको इलाकाबाट भएर गए, तरै पनि गधाहरू भेट्टाउन सकेनन्। 5 जब उनीहरू सूपको जिल्लामा पुगे, शाऊलले आफूसँग गएको त्यस नोकरलाई भने, “आइज, हामी फर्कौं। नत्रता बुबाले गधाहरूको फिक्री गर्न छोड़ेर हाम्रो सुर्ता गर्न लाग्नुहुनेछ।” 6 तर त्यस नोकरले भन्यो, “यस सहरमा परमेश्वरका खूब नाम चलेका एक जना मानिस छन्। तिनले भनेका सबै कुरा पूरा हुन्छ। हामी त्यहाँ जाऔं। शायद हाम्रो कामको विषयमा तिनले केही बताउन सक्छन् कि?” 7 शाऊलले भने, “हामी गयौं भने हामी तिनलाई के दिन सक्छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। परमेश्वरका जनको निम्ति केही सौगात पनि छैन। हामीसित के छ र?” 8 त्यस नोकरले फेरि भन्यो, “हेर्नुहोस्, मसित यहाँ चाँदीको एक चौथाइ शेकेल छ। हामी कता जानुपर्छ सो बताइदिएबापत म ती मानिसलाई यो दिनेछु।” 9 (पहिले-पहिले कुनै मानिसले परमेश्वरसित सल्लाह माग्न इच्छा गर्दा इस्राएलमा यसो भन्ने चलन थियो: “हामी दर्शीकहाँ जाऔं।” किनभने हिजोआजको अगमवक्तालाई त्यस बेला दर्शी भन्दथे।) 10 शाऊलले भने, “बेस, अब हामी तिनीकहाँ जाऔं।” तब उनीहरू परमेश्वरका ती मानिस भएको सहरमा गए। 11 उनीहरू सहर जाने डाँड़ाको उकालोमा उक्लँदैगर्दा उनीहरूले पानी भर्न आउने केही ठिटीहरूलाई भेटे, र तिनीहरूलाई सोधे, “के दर्शी घरै हुनुहुन्छ?” 12 तिनीहरूले भने, “हो, हुनुहुन्छ। उहाँ तपाईंहरूभन्दा अगि जाँदैहुनुहुन्छ। छिटो गर्नुहोस्। उहाँ भर्खरै सहरमा आइपुग्नुभएको छ, किनभने आज डाँड़ाको थानमा मानिसहरूले बलिदान चढ़ाउनेछन्। 13 डाँड़ाको थानमा उहाँ भोज खान जान अघि नै तपाईंहरूले उहाँलाई सहरमा पस्दापस्दै भेट्टाउनुहुनेछ। उहाँ नआइपुगुञ्जेल मानिसहरूले भोज खानेछैनन्, किनभने जन-समूहले खान अघि उहाँले बलिदानमाथि आशीर्वाद दिनुपर्छ। अब जानुहोस्, र तपाईंहरूले उहाँलाई झट्टै भेट्टाउनुहुनेछ।” 14 उनीहरू सहरतिर लागे, अनि उनीहरू सहरमा पस्दैगर्दा शमूएल उनीहरूतिर डाँड़ाको थानमा जानलाई आउँदैथिए। 15 अब शाऊल आउनुभन्दा एक दिन अघि परमप्रभुले यी वचनद्वारा शमूएललाई आफ्नो अभिप्राय प्रकट गर्नुभएको थियो: 16 “भोलि यसै समय बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु। त्यसलाई मेरो प्रजा इस्राएलको राजा अभिषेक गर्। त्यसले मेरो प्रजालाई पलिश्तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो प्रजाको दु:ख देखेको छु, किनकि यिनीहरूको क्रन्दन मेरा कानमा आइपुगेको छ।” 17 जसै शाऊल देखा परे तब परमप्रभुले शमूएललाई भन्नुभयो, “मैले तँलाई भनेको मानिस यही हो। यही मानिसले मेरो प्रजामाथि शासन गर्नेछ।” 18 शाऊलले मूल ढोकामा शमूएलकहाँ आएर भने, “दर्शी कहाँ बस्नुहुन्छ? कृपा गरी बताइदिनुहोस्।” 19 शमूएलले जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगिअगि डाँड़ाको थानमा जाऊ, र तिमी आज मसित खानेछौ। भोलि बिहानै तिम्रो मनमा जे कुरो छ सो म तिमीलाई बताएर तिमीलाई बिदा गर्नेछु। 20 तीन दिनअघि हराएका गधाहरूका विषयमा अब फिक्री नगर, किनभने ती फेला परिसकेका छन्। तर सारा इस्राएलले के मागिरहेका छन्? त्यसको लागि तिनीहरूले तिमी र तिम्रा पिता-पुर्खाको घरानातिर हेरिरहेका छन्।” 21 शाऊलले भने, “तर म त इस्राएलको सबैभन्दा सानो कुलको एक बेन्यामीनी हुँ। र बेन्यामीनको कुलका वंशहरूमध्ये मेरो वंश सबैभन्दा सानो छ। तपाईं किन यो कुरो मलाई भन्नुहुन्छ?” 22 तब शमूएलले शाऊल र उनको नोकरलाई खाने कोठामा ल्याए, र आमन्त्रित मानिसहरूमध्ये मुख्य स्थानमा बसाए। तिनीहरू प्राय: तीस जना थिए। 23 तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनी दिएको भाग यहाँ ले।” 24 तब त्यस भान्सेले जम्मै खुट्टासमेतको फिला ल्याएर शाऊलको अगि राखिदियो। तब शमूएलले भने, “तिम्रो निम्ति राखेको मासुको भाग यही हो। खाऊ किनकि ‘मैले पाहुनाहरूलाई निम्त्याएको छु’ भनी भनेको यस अवसरको निम्ति यसलाई अलग्गै राखिएको थियो।” यसकारण शाऊलले त्यस दिन शमूएलसँगै भोजन गरे। 25 जब डाँड़ाको थानबाट तिनीहरू सहरमा ओर्ले तब शमूएलले शाऊलसँग आफ्नो घरको कौसीमा कुरा गरे। 26 मिरमिरे उज्यालोमा शमूएलले शाऊललाई कौसीमा बोलाएर भने, “उठ, म अब तिमीलाई बिदा दिन्छु।” शाऊल उठेपछि उनी र शमूएल दुवै साथसाथ सड़कमा गए। 27 तिनीहरू सहरको छेउमा आइपुग्दा शमूएलले शाऊललाई भने, “यस नोकरलाई अगि जानू भन।” अनि त्यो अगि गयो। तब शमूएलले शाऊललाई भने, “तिमीचाहिँ एक छिन यहीँ पर्ख, र म तिमीलाई परमेश्वरको वचन भन्न सकूँ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society