१ शमूएल 8 - नेपाली नयाँ संशोधित संस्करणइस्राएलीहरूले राजाको माग गरेका र शाऊल राजा चुनिएका 1 जब शमूएल वृद्ध भए तब तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता नियुक्त गरे। 2 तिनको जेठा छोराको नाउँ योएल र माहिलाको नाउँ अबिया थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे। 3 तर तिनका छोराहरू आफ्ना पिताका चालमा हिँड़ेनन्, तर उनीहरू आफ्नै लाभको मात्र विचार गरी घूस लिएर न्याय भ्रष्ट गर्थे। 4 यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए। 5 तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। यसकारण अरू जातिहरूजस्तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्।” 6 तर शासनको निम्ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे। 7 तब परमप्रभुले शमूएललाई यसो भन्नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्। तिनीहरूले मलाई नै इन्कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन्। 8 मिश्रदेशबाट तिनीहरूलाई ल्याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्यसै गरिरहेका छन्। तिनीहरूले मलाई त्यागेर अरू देवताहरूको पूजा गरेका छन्। 9 तिनीहरूले अब के भन्दैछन् सो सुन्, तर तिनीहरूलाई गम्भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्तो शासन गर्नेछन्।” 10 राजाको माग राख्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएका सबै कुरा शमूएलले बताइदिए। 11 तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजा यस्ता किसिमका हुनेछन्: उनले तिमीहरूका छोराहरूलाई आफ्ना रथहरू र घोड़चढ़ीहरूसँग काम गर्न लाउनेछन्, र तिनीहरूलाई आफ्ना रथहरूका अगिअगि दौड़िन लाउनेछन्। 12 कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन् र फसल काट्नेछन्। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्त्रशस्त्र बनाउनेछन्। 13 उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्ति लानेछन्। 14 उनले तिमीहरूका सबैभन्दा असल खेतहरू, दाखबारी र भद्राक्षका बारीहरू लगेर आफ्ना नोकर-चाकरहरूलाई दिनेछन्। 15 आफ्ना पदाधिकारी र नोकर-चाकरहरूलाई दिनका निम्ति उनले तिमीहरूका अन्नको र दाखको फसलको दशौँ अंश लानेछन्। 16 उनले तिमीहरूका कमारा-कमारीहरू, र तिमीहरूका सबैभन्दा असल गाई-भैँसीहरू र गधाहरूलाई लगेर आफ्नै काममा चलाउनेछन्। 17 उनले तिमीहरूका भेड़ाबाख्राहरूका बथानको दशौँ भाग लानेछन्, अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ। 18 त्यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्ति तिमीहरू कराउनेछौ, तर त्यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।” 19 तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे। तिनीहरूले भने, “होइन, हामीमाथि राजा हुनैपर्छ। 20 तब हामीलाई शासन गर्ने र लड़ाइँ गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरूजस्तै हुनेछौं।” 21 मानिसहरूले भनेका कुरा सुनेपछि शमूएलले परमप्रभुको अगि दोहोर्याए। 22 अनि उहाँले यस्तो जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुराअनुसार गर्, र तिनीहरूका निम्ति एक जना राजा नियुक्त गर्।” तब शमूएलले इस्राएलका सबै मानिसहरूलाई आ-आफ्नो घरमा पठाइदिए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society