१ शमूएल 7 - नेपाली नयाँ संशोधित संस्करण1 तब किर्यत-यारीमका मानिसहरू आएर परमप्रभुको सन्दूक लगे। तिनीहरूले डाँड़ामा भएको अबीनादाबको घरमा त्यो ल्याए, र तिनका छोरा एलाजारलाई त्यसको हेरचाह गर्ने काममा अर्पण गरे शमूएलद्वारा पलिश्तीहरू परास्त 2 यसरी धेरै समयसम्म, अर्थात् कुल बीस वर्षसम्म सन्दूक किर्यत-यारीममा रह्यो, र इस्राएलका सबै मानिसहरूले शोक मनाए र परमप्रभुको बाटो खोजे। 3 अनि शमूएलले समस्त इस्राएल जातिलाई यसो भने, “यदि तिमीहरू आफ्ना पूरा मनले परमप्रभुतिर फर्कंदछौ भने तिमीहरूका माझबाट पराई देवताहरू र अश्तोरेत देवताहरूलाई निकालिदेओ, आफ्ना पूरा मन र हृदयले परमप्रभुतिर फर्क, र उहाँको मात्र सेवा गर, अनि उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट मुक्त गर्नुहुनेछ।” 4 यसरी इस्राएलीहरूले बाल देवताहरू र अश्तोरेत देवताहरूलाई निकालिदिए, र परमप्रभुको मात्र सेवा गर्न लागे। 5 तब शमूएलले भने, “सबै इस्राएलीहरूलाई मिस्पामा भेला गराओ र म तिमीहरूका लागि परमप्रभुसित प्रार्थना गर्नेछु।” 6 जब तिनीहरू त्यहाँ भेला भए, तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्ने खन्याए। त्यस दिन “हामीले परमप्रभुको विरुद्धमा पाप गर्यौं” भनी स्वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे। अनि शमूएल मिस्पामा इस्राएलका अगुवा भए। 7 इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनी जब पलिश्तीहरूले सुने, तब उनीहरूका शासकहरू इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई निस्के। पलिश्तीहरू अगि बढ्दैआएको कुरा सुनेर इस्राएलीहरू डराए। 8 तिनीहरूले शमूएललाई भने, “पलिश्तीहरूका हातबाट हामीलाई बचाउनलाई परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्न नछोड्नुहोस्।” 9 तब शमूएलले भेड़ाका एउटा दूधे बच्चा लिएर होमबलि चढ़ाए, र इस्राएलको निम्ति परमप्रभुसँग कराएर प्रार्थना गरे। अनि परमप्रभुले तिनका प्रार्थनाको उत्तर दिनुभयो। 10 तब शमूएलले होमबलि चढ़ाइरहँदा, पलिश्तीहरू इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े। तर त्यस दिन परमप्रभु पलिश्तीहरूका विरुद्धमा ठूलो सोरले गर्जनुभयो र पलिश्तीहरूका बीचमा खलबली पार्नुभयो। आतङ्कले भरिएर उनीहरू इस्राएलको सामुबाट भागे। 11 इस्राएलीहरू मिस्पाबाट पलिश्तीहरूलाई खेद्दै निस्के, र बेथ-करको मुन्तिरसम्म उनीहरूलाई मार्दैरहे। 12 त्यही नै मिस्पा र शेनको बीचमा शमूएलले स्मारकको रूपमा एउटा ढुङ्गा खड़ा गरे। त्यसलाई एबेन-एजेर भन्ने नाउँ राखे। तिनले भने, “परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो।” 13 यसरी पलिश्तीहरू वशमा पारिए, र इस्राएलको इलाकाभित्र फेरि पसेनन्। शमूएलको जीवनभरि नै परमप्रभुको हात पलिश्तीहरूका विरुद्धमा रह्यो। 14 उनीहरूले लिएका एक्रोनदेखि गातसम्मका सहरहरू फेरि इस्राएललाई फर्काइदिए, र इस्राएलीहरूले छिमेकका इलाकाहरूलाई पलिश्तीहरूको शक्तिदेखि छुटाए। अनि इस्राएल र एमोरीहरूका बीचमा मिलाप भयो। 15 आफ्नो जीवनभरि नै शमूएल इस्राएलका न्यायकर्ता रहे। 16 तिनले प्रतिवर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मारेर ती सबै ठाउँहरूमा न्याय गर्थे, 17 तर सधैँ रामामा नै फर्कन्थे। तिनको घर त्यहीँ नै थियो, र त्यहीँ पनि तिनले इस्राएलको न्याय गर्थे। तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society