Online Bible

- Reklamy -

१ शमूएल 4 - नेपाली नयाँ संशोधित संस्करण


पलिश्तीहरूले करारको सन्दूक कब्जा गरेर लगेका

1 अनि शमूएलको वचन इस्राएलभरि नै आयो। यतिखेर इस्राएलीहरू पलिश्‍तीहरूसित युद्ध गर्नलाई अगि बढ़े। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्‍तीहरूले अपेकमा छाउनी हाले।

2 पलिश्‍तीहरूले इस्राएलको सामुन्‍ने आफ्‍ना पङ्‌क्ति बाँधे, र जब तिनीहरूका बीचमा लड़ाइँ भयो तब इस्राएलीहरू पलिश्‍तीहरूद्वारा पराजित भए, अनि तिनीहरूका चार हजार मानिसहरू रणभूमिमा मारिए।

3 सेना छाउनीमा फर्केर आएपछि इस्राएलका धर्म-गुरुहरूले सोधे, “आज परमप्रभुले हामीलाई किन पलिश्‍तीहरूद्वारा पराजित गराउनुभयो? उहाँ हामीसँग जाऊन्‌ र हामीलाई हाम्रा शत्रुहरूको हातबाट मुक्त गराऊन्‌ भनेर हामी परमप्रभुका करारको सन्‍दूक शीलोबाट ल्‍याऔं।”

4 यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र सर्वशक्तिमान्‌ परमप्रभु, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्‍छ, उहाँका करारको सन्‍दूक तिनीहरूले ल्‍याए। एलीका दुई छोरा, होप्‍नी र पीनहास, त्‍यहाँ सन्‍दूकको साथमा थिए।

5 जब सन्‍दूक छाउनीमा ल्‍याइयो तब सारा इस्राएलीहरूले यति ठूलो सोरले कराए कि पृथ्‍वी नै काम्‍यो।

6 पलिश्‍तीहरूले त्‍यो सोर सुने, र सोधे, “हिब्रूहरूको छाउनीमा भएको त्‍यो ठूलो हल्‍ला के हो?” परमप्रभुको सन्‍दूक छाउनीमा आयो भनी जब पलिश्‍तीहरूले थाहा पाए,

7 तब उनीहरूले डराएर भने, “देवताहरू छाउनीमा आएछन्‌।

8 हाम्रो त सर्वनाश भयो! यस्‍तो त पहिले कहिल्‍यै भएको थिएन। हामीमाथि हाय, यस्‍ता शक्तिशाली देवताहरूका शक्तिबाट हामीलाई कसले छुटाउन सक्‍नेछ? यी ती नै देवताहरू हुन्‌ जसले मिश्रीहरूलाई विभिन्‍न महामारीद्वारा उजाड़-स्‍थानमा ध्‍वंस बनाए।

9 हे पलिश्‍ती हो, आँटिला होओ, र मर्दझैँ काम गर, नत्रता जस्‍तो तिनीहरू तिमीहरूका कमारा थिए तिमीहरू पनि तिनीहरूका कमारा हुनेछौ। मर्दझैँ लड़ाइँ गर।”

10 यसर्थ पलिश्‍तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर आ-आफ्‍नो पालमा भागे। त्‍यो ठूलो हार थियो, र तीस हजार इस्राएली पैदल-सिपाहीहरू नष्‍ट भए।

11 परमेश्‍वरको सन्‍दूक कब्‍जा गरियो, अनि एलीका दुवै छोरा, होप्‍नी र पीनहास मरे।


एलीको मृत्‍यु

12 त्‍यसै दिन रणभूमिबाट आफ्‍नो लुगा च्‍यातिएको एउटा बेन्‍यामीनी टाउकोभरि धूलैधूलो लिएर शीलोमा दौड़ेर पुग्‍यो।

13 त्‍यो आइपुग्‍दा एली बाटोको छेउमा आफ्‍नो आसनमा बसेर हेरिरहेका थिए, किनभने परमेश्‍वरका सन्‍दूकको कारण उनी साह्रै विचलित भएका थिए। समाचार लिएर त्‍यो मानिस सहरभित्र पस्‍यो, र जब त्‍यसले जे भएको थियो सबै भन्‍यो तब पूर्ण सहरले नै चीत्‍कार गरे।

14 जब एलीले त्‍यो सुने तब उनले भने, “यो केको हल्‍लाखल्‍ला हो?” त्‍यो मानिस हतार-हतार एलीकहाँ गयो।

15 एली त्‍यस बेला अन्‍ठान्‍नब्‍बे वर्ष पुगेका थिए, र आँखा देख्‍दैनथे।

16 तब त्‍यस मानिसले उनलाई भन्‍यो, “म लड़ाइँबाट भर्खरै आएको हुँ। आजै म रणभूमिबाट भागेर आएको छु।” एलीले सोधे, “हे मेरो छोरो, के भयो?”

17 त्‍यो समाचार ल्‍याउने मानिसले जवाफ दियो, “इस्राएलीहरू पलिश्‍तीहरूको सामुबाट भागे। सेनामा ठूलो विनाश भएको छ। तपाईंका दुवै छोरा, होप्‍नी र पीनहास मारिए, र परमेश्‍वरको सन्‍दूक पनि खोसियो।”

18 परमेश्‍वरका सन्‍दूकको विषयमा सुन्‍ने बित्तिकै ढोकाको छेउमा भएको आसनबाट एली पछिल्‍तिर लड़े, र उनको घाँटी भाँचिएर उनी मरे, किनभने उनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। उनी चालीस वर्षसम्‍म इस्राएलका अगुवा भएका थिए।

19 उनकी बुहारी, पीनहासकी पत्‍नी गर्भवती थिई, र बालक जन्‍मने समय भइसकेको थियो। जब त्‍यसले परमेश्‍वरको सन्‍दूक कब्‍जा गरेर लगेको र आफ्‍ना ससुरा र पति मरेका थाहा पाई तब त्‍यति नै बेला थुचुक्‍क बसेर त्‍यसले बालक जन्‍माई। तर त्‍यसको प्रसववेदनाले गर्दा त्‍यो ग्रस्‍त भई।

20 जब त्‍यो मर्नै लागेकी थिई तब त्‍यसलाई स्‍याहार्ने स्‍त्रीहरूले भने, “हरेस नखाऊ, तिम्रो एक जना छोरो भयो।” तर तिनीहरूले भनेको कुराको त्‍यसले जवाफ दिइन, त्‍यसले ध्‍यानै दिइन।

21 त्‍यसले यसो भनेर बालकको नाउँ ईकाबोद राखी, “इस्राएलबाट महिमा हरायो,” कारण परमेश्‍वरका करारको सन्‍दूक कब्‍जा गरिएको तथा त्‍यसका ससुरा र पतिको मृत्‍यु भएको थियो।

22 “इस्राएलबाट महिमा हरायो, किनभने परमेश्‍वरको सन्‍दूक खोसिएको छ,” त्‍यसले भनी।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy