१ शमूएल 31 - नेपाली नयाँ संशोधित संस्करणगिल्बो डाँडामा इस्राएलीहरूको हार र शाऊलको मृत्यु 1 पलिश्तीहरूले इस्राएलको विरुद्धमा लड़ाइँ गरे, र इस्राएलीहरू पराजित भए, र गिल्बो डाँड़ामा आफ्ना लाशहरूलाई छोड़ेर भागे। 2 पलिश्तीहरूले शाऊल र उनका छोराहरूलाई खूब खेदे, र उनका तीन जना छोराहरू, जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। 3 शाऊलका चारैतिर लड़ाइँ मच्चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्त घायल बनाए। 4 तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्, र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे। 5 जब त्यस हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैलाई रोपेर उनीसँगै मर्यो। 6 यसरी उनीहरू सबै त्यही दिन एकसाथ मरे— शाऊल, उनका तीन भाइ छोराहरू, उनका हतियार बोक्ने र उनका मानिसहरू पनि। 7 बेँसीमा भएका र यर्दन पारिका सबै इस्राएलीहरूले अरू इस्राएलीहरूलाई भागेका तथा शाऊल र उनका छोराहरू खतम भएका जब देखे, तब तिनीहरू आ-आफ्ना सहरहरू छोड़ेर भागे, र पलिश्तीहरू त्यहाँ गएर ती सहरहरूलाई कब्जा गरे। 8 अर्को दिन जब पलिश्तीहरू मरेकाहरूका लूट बटुल्नलाई आए तब उनीहरूले गिल्बो डाँड़ामा शाऊल र उनका तीन छोराहरूलाई मरेका भेट्टाए। 9 उनीहरूले शाऊलको टाउको काटे, र उनका हतियारहरू लगे। त्यसपछि उनीहरूले आफ्नो देशको चारैतिर यो शुभ समाचार देवताहरूको मन्दिरमा र मानिसहरू सबैलाई सुनाउन भनी समाचारवाचकहरू पठाए। 10 उनीहरूले शाऊलका हतियारहरू अश्तोरेत देवीहरूका मन्दिरमा राखे, र उनका मृत-शरीर बेथ-शानको पर्खालमा कीला ठोकेर झुण्ड्याए। 11 पलिश्तीहरूले शाऊलको मृत-शरीरलाई जे गरेका थिए त्यो जब याबेश-गिलादका मानिसहरूले सुने, 12 तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्याए, र ती लाशहरूलाई जलाइदिए। 13 त्यसपछि तिनीहरूले ती हड्डीहरू निकालेर याबेशको झ्याउको बोटमुनि गाड़े, र सात दिनसम्म तिनीहरू उपवास बसे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society