१ शमूएल 29 - नेपाली नयाँ संशोधित संस्करणदाऊद पलिश्ती सेनाबाट छुटेका 1 पलिश्तीहरूले अपेकमा आफ्ना सबै फौजहरू युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूचाहिँ यिजरेलमा भएको पानीको मूलनेर छाउनी हाले। 2 पलिश्ती शासकहरूले सय-सय र हजार-हजारका पङ्क्तिमा आफ्ना फौजलाई अगि बढ़ाइरहेका थिए, अनि दाऊद र तिनका मानिसहरू आकीशसँग पछिल्लो पङ्क्तिमा थिए। 3 तब पलिश्तीका सेनापतिहरूले सोधे, “यी हिब्रूहरू किन आएका छन्?” आकीशले जवाफ दिए, “यिनी इस्राएलका राजा शाऊलका सेवक दाऊद हुन्, जो मसँग एक वर्षभन्दा ज्यादै रहेका छन्। तिनी मतर्फ लागेदेखि यसो मैले कुनै किसिमको दोष तिनमा भेट्टाएको छैनँ।” 4 तर पलिश्ती सेनापतिहरू क्रोधित भए, र आकीशलाई भने, “त्यस मानिसलाई तपाईंले दिनुभएको ठाउँमा पठाइदिनुहोस्। त्यसले हाम्रा साथ दिएर लड़ाइँ नगरोस्, नत्रता लड़ाइँमा त्यसले हामीलाई विश्वासघात गर्ला। हाम्रो प्राण लिएर आफ्नो मालिकको निगाह प्राप्त गर्न त्यसलाई यसभन्दा राम्रो मौका अरू के होला र? 5 के यो त त्यही दाऊद होइन र, जसको विषयमा तिनीहरूले यसो भनेर गाउँदै नाचेका थिए, शाऊलले हजारौँ हजारलाई ध्वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्वंस गरे। 6 तब आकीशले दाऊदलाई बोलाइपठाए, र तिनलाई भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि तिमी सोझा मानिस हौ, र मेरो सेनामा तिम्रो सेवाले म सन्तुष्ट छु। तिमी मसँग आएकादेखि यसो मैले तिमीमा कुनै दोष भेट्टाएको छैनँ, तर अरू शासकहरू तिमीलाई लिन राजी छैनन्। 7 यसकारण शान्तिसँग घर जाऊ, र तिनीहरूले खराब सम्झेको कुनै कुरा तिमीबाट नहोस्।” 8 दाऊदले भने, “मैले के गरेको छु? म तपाईंको सेवामा लागेको दिनदेखि आजसम्म तपाईंले ममा के खोट भेट्टाउनुभएको छ, र मैले मेरा प्रभु महाराजाका शत्रुहरूका विरुद्धमा लड़ाइँ गर्न नपाउने?” 9 आकीशले दाऊदलाई जवाफ दिए, “म यो कुरा मान्छु कि तिमी मप्रति परमेश्वरका दूतजस्तै सच्चा भएका छौ, तर तिमी तिनीहरूका साथमा लागेर लड़ाइँ गर्न जानुहुँदैन भनी पलिश्तीहरूका सेनापतिहरू जिद्दी गर्छन्। 10 यसकारण भोलि उज्यालो हुने बित्तिकै उठेर तिम्रो साथमा आएका तिम्रा मालिकका मानिसहरूसँग गइहाल।” 11 यसैले दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा जानलाई बिहान सबेरै उठे। पलिश्तीहरू यिजरेलको बाटो लागे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society