Online Bible

- Reklamy -

१ शमूएल 24 - नेपाली नयाँ संशोधित संस्करण


दाऊदले शाऊलका जीवन छोडिदिएका

1 जब शाऊल पलिश्‍तीहरूलाई खेदेर फर्के, तब दाऊद एन-गदीको मरुभूमिमा छन्‌ भनी उनले थाहा पाए।

2 यसकारण उनी जम्‍मै इस्राएलबाट चुनिएका तीन हजार मानिस लिएर दाऊद र तिनका मानिसहरूलाई खोज्‍न घोरल-पहराको नजिक हिँड़े।

3 त्‍यहाँ बाटोको छेउमा केही भेड़ा-गोठहरू थिए, छेवैमा एउटा गुफा थियो। त्‍यसैको पल्‍लो कुनामा दाऊद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। शाऊल त्‍यस गुफामा आएर दिसा बस्‍नलाई भित्र पसे।

4 दाऊदका मानिसहरूले तिनलाई भने, “दिन यही हो जसको बारेमा परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि उहाँले हजूरको शत्रुलाई हजूरको हातमा सुम्‍पिदिनुहुन्छ, र हजूरलाई जे इच्‍छा लाग्‍छ त्यो गर्न सक्नुहुन्छ।” दाऊद बिस्‍तार गएर शाऊलको खास्‍टोको एक छेउ काटे।

5 तर तिनले उनका खास्‍टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो।

6 दाऊदले आफ्‍ना मानिसहरूलाई भने, “मैले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्‌। किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्‍छ।”

7 यसैले दाऊदले आफ्‍ना मानिसहरूलाई हप्‍काए, र राजामाथि केही हानि गर्न दिएनन्‌। शाऊल उठेर गुफा छोड़ी आफ्‍नो बाटो लागे।

8 तब दाऊद गुफाबाट बाहिर निस्‍के, र शाऊललाई भने, “हे मेरा प्रभु महाराजा।” जब शाऊलले पछि फर्केर हेरे, तब भूइँमा घोप्‍टो परी दण्‍डवत्‌ गरेर

9 दाऊदले भने, “दाऊदले हजूरको हानि गर्न चाहन्‍छ भनी मानिसहरूले भन्‍दा हजूर किन उनीहरूको कुरा सुन्‍नुहुन्‍छ?

10 आज हजूरले नै देख्‍नुभयो कि गुफाभित्र परमप्रभुले हजूरलाई मेरो हातमा सुम्‍पिदिनुभएको थियो। कतिले हजूरलाई मार्न दबाउ दिएका थिए, तर मैले हजूरलाई छोड़िदिएँ, र भने, ‘म मेरो हात मेरा मालिकको विरुद्धमा उठाउन सक्‍दिनँ, किनभने उहाँ त परमप्रभुका अभिषिक्त जन हुनुहुन्‍छ’।

11 हेर्नुहोस्, मेरा पिता, मेरो हातमा भएको यो तपाईंका लुगाको टुक्रा हेर्नुहोस्‌! मैले त्‍यो काटें, तर हजूरलाई मारिनँ। यसबाट थाहा होस्‌ कि हजूरको विरुद्ध उपद्रव गर्न अथवा धोखाबाजी गर्न मैले चिताएको छैनँ। मैले हजूरको केही खराबी गरेको छैनँ, तापनि हजूरले त मेरो प्राण लिन मलाई खेद्‌नुहुन्‍छ।

12 परमप्रभुले हाम्रा बीचमा न्‍याय गरिदेऊन्। उहाँले मेरो खातिर हजूरसँग बदला लिऊन्‌। तर म त हजूरको विरुद्धमा मेरो हात कहिल्‍यै उठाउनेछैनँ।

13 उहिलेको आहानै छ, ‘खराबीले खराबी जन्‍माउँछ’। यसकारण म मेरो हात हजूरको विरुद्धमा कहिल्‍यै उठाउनेछैनँ।

14 “इस्राएलका राजा कसको विरुद्धमा निस्‍केर आउनुभएको छ? हजूर कसलाई खेद्‌दैहुनुहुन्‍छ? एउटा मरेको कुकुर, केवल एउटा उपियाँलाई होइन र?

15 परमप्रभु नै हाम्रा न्‍यायकर्ता हुनुहुन्‍छ, र उहाँले हाम्रा बीचमा फैसला गरिदिनुहुनेछ। म के कारण भागिरहेछु, परमप्रभुले हेर-विचार गरिदेऊन्। मेरो निम्‍ति परमप्रभुले नै इन्‍साफ गरेर तपाईंको हातबाट मलाई मुक्त गरिदेऊन्।”

16 जब दाऊद बोलिसके, तब शाऊलले भने, “के त्‍यो तिमी नै हौ, मेरा छोरा दाऊद?” अनि उनी रोए।

17 तब उनले भने, “तिमी मभन्‍दा धर्मी मानिस रहेछौ। तिमीले मप्रति असल व्‍यवहार देखायौ, तर मैले चाहिँ तिमीप्रति खराब व्‍यवहार देखाएको छु।

18 तिमीले भर्खरै मप्रति गरेको भलाइको विषयमा भन्‍यौ। परमप्रभुले मलाई तिम्रो हातमा सुम्‍पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ।

19 कुनै मानिसले आफ्‍नो शत्रुलाई फेला पारेर त्‍यसलाई कुशलसाथ जान दिन्‍छ र? यसैकारण आजको दिन तिमीले ममाथि गरेको काममा परमप्रभुले तिमीलाई असल इनाम देऊन्।

20 अब मलाई यो थाहा भयो कि तिमी निश्‍चय नै राजा हुनेछौ। इस्राएलका राज्‍यले तिम्रो शासनमा उन्‍नति गर्नेछ।

21 यसकारण परमप्रभुको नाउँमा शपथ खाएर भन कि मेरा सन्‍तानलाई तिमी खतम गर्नेछैनौ, र मेरो नाउँ मेरा पिताको घरानादेखि मेटिदिनेछैनौ।”

22 दाऊदले शाऊलसँग शपथ खाए, र शाऊल आफ्‍नो घर फर्के। दाऊद र तिनका मानिसहरूचाहिँ आफ्‍नो गढ़ीमा गए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy