१ राजा 5 - नेपाली नयाँ संशोधित संस्करणमन्दिरका निर्माणको तयारी 1 सोलोमन आफ्ना पिताको सट्टामा राजा अभिषिक्त भएका छन् भनी जब टुरोसका राजा हीरामले सुने, तब उनले सोलोमनकहाँ राजदूतहरू पठाए, किनभने उनी सधैँ दाऊदसँग मित्रभावमा बसेका थिए। 2 सोलोमनले हीरामकहाँ यो खबर पठाए: 3 “तपाईंलाई थाहा छ कि मेरा पिता दाऊदको विरुद्धमा चारैतिरबाट लड़ाइँहरू भएकाले, परमप्रभुले उहाँका शत्रुहरूलाई खुट्टामुनि नपारुञ्जेल परमप्रभु उहाँका परमेश्वरका नाउँको निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन। 4 तर अब परमप्रभु मेरा परमेश्वरले मलाई चारैतिर विश्राम दिनुभएको छ, र मेरा विरोधी अथवा विपत्ति छैन। 5 यसकारण मेरा पिता दाऊदलाई परमप्रभुले भन्नुभएबमोजिम परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर बनाउने मैले निश्चय गरेको छु। परमेश्वरले दाऊदलाई यसो भन्नुभएको थियो, “तेरो छोरो, जसलाई म तेरो सट्टामा सिंहासनमा बसाल्नेछु, त्यसैले नै मेरो नाउँको निम्ति त्यो मन्दिर बनाउनेछ।” 6 “यसकारण मेरो निम्ति लेबनानबाट देवदारुका रूख काट्ने हुकुम दिनुहोस्। मेरा मानिसहरूले तपाईंका मानिसहरूसँग मिलेर काम गर्नेछन्, र तपाईंले जे ज्याला तोक्नुहुन्छ म तपाईंका मानिसहरूलाई दिनेछु। तपाईं जान्नुहुन्छ, सीदोनीहरूजस्तै रूखहरू ढाल्ने सिपालु हाम्रा कुनै मानिस छैन।” 7 जब हीरामले सोलोमनको समाचार सुने, तब उनी अत्यन्तै खुशी भएर भने, “आज परमप्रभुको प्रशंसा होस्, किनकि उहाँले दाऊदलाई यस ठूलो प्रजामाथि शासन गर्नलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।” 8 उनले सोलोमनलाई यो समाचार पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। देवदारु र सल्लाका काठको विषयमा तपाईंले माग्नुभएबमोजिम म सबै जुटाइदिनेछु। 9 मेरा मानिसहरूले लेबनानबाट समुद्रसम्म मूढ़ाहरू झार्नेछन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा बगाएर पठाउन लाउनेछु। म त्यहाँ ती खोल्न लाउनेछु, र तपाईंले ती लैजान सक्नुहुनेछ। अनि मेरा राजकीय घरानाको निम्ति तपाईंले खानेकुरा जुटाइदिएर तपाईंले मेरो इच्छा पूरा गरिदिनुहोस्।” 10 यसरी सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढ़ाहरू हीरामले पठाइदिए, 11 र सोलोमनले चाहिँ उनका घरानालाई खानका निम्ति पचास हजार मुरी गहूँ र साढ़े चार हजार लिटर कुटेको भद्राक्षको तेल हीरामलाई पठाए। सोलोमनले यो वर्षैपिच्छे हीरामलाई पठाइदिए। 12 आफूले प्रतिज्ञा गर्नुभएबमोजिम परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा शान्तिको सम्बन्ध थियो, र ती दुवैले सन्धि बाँधे। 13 सोलोमन राजाले सारा इस्राएलबाट तीस हजार बेगार काम गर्ने मानिसहरू जम्मा गरे। 14 तिनले तिनीहरूलाई प्रत्येक महिना दश-दश हजार गरी पालैपालो लेबनानमा पठाउँथे, र यसरी मानिसहरू एक महिना लेबनानमा र दुई महिना घरमा बस्थे। बेगार काम गर्नेहरूलाई खटाउने जिम्मावाल अदोनीराम थिए। 15 सोलोमनका सत्तरी हजार भरियाहरू र पहाड़मा असी हजार ढुङ्गा काट्ने मानिसहरू थिए। 16 मजदूरहरूका काम हेर्न र रेखदेख गर्न खटिएका तीन हजार तीन सय नाइकेहरू थिए। 17 राजाको हुकुमअनुसार तिनीहरूले परमप्रभुको मन्दिरको निम्ति काटेका ढुङ्गाको जग बसाल्नलाई विशेष किसिमका ढुङ्गाहरू फोरेर निकाले। 18 सोलोमन र हीरामका कारीगरहरू र गेबालका मानिसहरूले मन्दिर बनाउनका निम्ति काठ र ढुङ्गाहरू काटेर तयार गरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society