Online Bible

- Reklamy -

१ राजा 4 - नेपाली नयाँ संशोधित संस्करण


सोलोमनका अधिकारी र राज्यपालहरू

1 यसरी सोलोमन राजाले सारा इस्राएलमाथि राज्‍य गरे।

2 तिनका मुख्‍य-मुख्‍य अधिकारीहरू यी नै हुन्‌: सादोकका छोरा अजर्याह— पूजाहारी,

3 शीशाका छोरा, एलीहोरेफ र अहियाह— सचिवहरू, अहीलूदका छोरा यहोशापात— लेखापाल,

4 यहोयादाका छोरा बनायाह— मुख्‍य सेनापति, सादोक र अबियाथार— पूजाहारीहरू,

5 नातानका छोरा अजर्याह— जिल्‍ला-जिल्‍लाका अधिकृतहरूमाथिका जिम्‍मावाल, नातानका छोरा जाबूद— पूजाहारी र राजाका व्‍यक्तिगत सल्‍लाहकार,

6 अहीशार— राजमहलका जिम्‍मावाल, अब्‍दाका छोरा अदोनीराम— बेगार काम गर्नेहरूका जिम्‍मावाल।

7 सारा इस्राएलमाथि सोलोमनका बाह्र जना जिल्‍ला-जिल्‍लाका जिल्‍लापालहरू थिए, जसले राजा तथा राजघरानालाई खानेकुरा जुटाउँथे। प्रत्‍येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्‍यो।

8 तिनीहरूका नाउँ यी नै हुन्‌: एफ्राइमका पहाड़ी देशमा— बेन-हूर।

9 माकाज, शाल्‍बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा— बेन-देकेर,

10 अरूब्‍बोतमा— बेन-हेसेद (तिनको जिम्‍मामा सोको र हेपेरको सबै देश थिए।),

11 डोरको लेकमा— बेन-अबीनादाब, (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए),

12 तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्‍मामसम्‍ममा— अहीलूदका छोरा बाना,

13 रामोत-गिलादमा— बेन-गेबेर (जसको जिम्‍मामा गिलादमा भएका मनश्‍शेका छोरा याईरका बस्‍तीहरू र बाशानमा भएको अर्गोबको जिल्‍ला अनि मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरेका साठी वटा ठूला-ठूला सहरहरू पनि थिए),

14 महनोममा— इद्दोका छोरा अहीनादाब।

15 नप्‍तालीमा— अहीमास। (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए),

16 आशेर र आलोतमा— हूशैका छोरा बाना,

17 इस्‍साखारमा— पारूहका छोरा यहोशापात,

18 बेन्‍यामीनमा— एलाका छोरा शिमी,

19 गिलादमा— ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश)। तिनी त्‍यस जिल्‍लाका एक जना मात्र जिल्‍लापाल थिए।


सोलोमनका दैनिक खूराक

20 यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैँ असंख्‍य थिए। तिनीहरू खान्‍थे, पिउँथे र सुखसित रहन्‍थे।

21 यूफ्रेटिस नदीदेखि पलिश्‍तीहरूको देश र मिश्रको सिमानासम्‍मैका सबै राज्‍यहरूमाथि सोलोमनले शासन गर्थे। ती देशहरूले तिनलाई कर तिर्थे र तिनको सारा जीवनकालभरि नै उनीहरू तिनका प्रजा भएर बसे।

22 सोलोमनको दिनदिनको खूराक पचहत्तर मुरी मसिनो पीठो र एक सय पचास मुरी अन्‍न,

23 गोठमा पालेका दश वटा गाई-गोरुहरू, खर्कमा पालेका बीस वटा गाई-गोरुहरू, एक सय भेड़ा र बाख्रा, अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए।

24 किनकि तिनले यूफ्रेटिस नदीको पश्‍चिमपट्टिका सबै देश, अर्थात्‌ तिफसादेखि गाजासम्‍म राज्‍य गर्थे।

25 सोलोमनको जीवनकालभरि नै दानदेखि बेर्शेबासम्‍मै यहूदा र इस्राएल शान्‍तिसित रहन्‍थे, हरेक मानिस आ-आफ्‍नै दाख र नेभाराको बोटमुनि सुरक्षितसाथ रहन्‍थ्‍यो।

26 सोलोमनका चार हजार रथका घोड़ाहरूका लागि तबेलाहरू र बाह्र हजार घोड़ाहरू थिए।

27 जिल्‍ला-जिल्‍लाका अधिकृतहरूले हरेक महिना पालैपालो सोलोमन र तिनका टेबिलमा बसेर खानेहरू सबैका निम्‍ति खानेकुरा जुटाउँथे। यसरी ल्‍याउँदा केही कुराको घटी नहोस्‌ भनी तिनीहरूले हेर-विचार गर्थे।

28 रथका घोड़ाहरू र अरू घोड़ाहरूका निम्‍ति पनि तिनीहरूले तोकिएका आ-आफ्‍ना जौ र परालका हिस्‍सा ल्‍याउँथे।


सोलोमनको ज्ञान

29 परमेश्‍वरले सोलोमनलाई बुद्धि र अति अन्‍तर्दृष्‍टि र समुद्रको बालुवाजत्तिकै अनगिन्‍ती समझशक्ति दिनुभयो।

30 सोलोमनको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्रदेशका सबै मानिसहरूको बुद्धिभन्‍दा ज्‍यादै बढ़ी थियो।

31 तिनी अरू सबै मानिसहरूभन्‍दा बुद्धिमान्‌ थिए— एज्री एतान, अनि माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्‍दा पनि तिनी बढ़ी बुद्धिमान्‌ थिए। अनि तिनको ख्‍याति वरिपरिका सबै जाति-जातिहरूका बीचमा फैलियो।

32 तिनले तीन हजार हितोपदेश रचे, र तिनका गीतहरूको संख्‍या एक हजार पाँच वटा थियो।

33 तिनले रूखहरूका जीवनको विषयमा, लेबनानका देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्‍मका वर्णन गरे। तिनले पशुहरू, पक्षीहरू, घस्रने जन्‍तुहरू र माछाहरूका विषयमा पनि सिकाए।

34 सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्‍न तिनीकहाँ आउँथे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy