Online Bible

- Reklamy -

१ यूहन्‍ना 1 - नेपाली नयाँ संशोधित संस्करण


जीवनको वचन

1 जीवनको त्‍यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्‍यौं र हाम्रा हातले छोयौं,

2 त्‍यो जीवन प्रकट भयो, र हामीले देख्‍यौं, र हामी गवाही दिन्‍छौं, र तिमीहरूलाई त्‍यस अनन्‍त जीवनको सन्‍देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो।

3 हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्‌। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ।

4 हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्‍द पूर्ण होस्‌।


ज्‍योतिमा हिँड्‌नु

5 जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन।

6 यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्‍छौं र अन्‍धकारमा नै हिँड्‌छौं भनेता, हामी झूट बोल्‍छौं र सत्‍यमा चल्‍दैनौं।

7 तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।

8 यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन।

9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

10 यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्‍छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy