Online Bible

- Reklamy -

१ कोरिन्थी 6 - नेपाली नयाँ संशोधित संस्करण


विश्‍वासीहरूका बीचमा मुद्दा-मामिला

1 तिमीहरूमध्‍ये एक जनाको अर्को भाइसँग झगड़ा भएको छ भने न्‍यायको निम्‍ति सन्‍तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्‍यसले आँट गर्छ?

2 सन्‍तहरूले संसारको न्‍याय गर्छन्‌ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यदि संसारको न्‍याय तिमीहरूले नै गर्नुपर्छ भने, सानाभन्‍दा साना मुद्दाहरू छिन्‍न के तिमीहरू अयोग्‍य छौ?

3 के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्‍याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन्‌ र?

4 यस्‍ता झगड़ाहरू तिमीहरूमा छन्‌ भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्‍तछौ, जुन मानिसहरूलाई मण्‍डलीले केही मोलका ठान्‍दैनन्‌?

5 तिमीहरूलाई शर्ममा पार्न म यो भन्‍दछु। आफ्‍ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्‍ने बुद्धिमान्‌ मानिस के साँच्‍चै तिमीहरूमा कोही पाइँदैन र?

6 तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्‍छ, त्‍यो पनि अविश्‍वासीहरूका सामुन्‍ने!

7 तिमीहरूमा एकले अर्काको विरुद्धमा मुद्दा लड्‌नुनै तिमीहरूको हार हो। बरु अन्‍याय किन नसहनु? बरु किन ठगिएर नै नबस्‍नु?

8 तर तिमीहरू नै अन्‍याय गर्दछौ र ठग्‍छौ, त्‍यो पनि आफ्‍नै भाइहरूलाई!

9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,

10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।

11 तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।


व्‍यभिचार

12 “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा मेरो निम्‍ति न्‍यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।

13 “भोजन पेटको निम्‍ति, र पेट भोजनको निम्‍ति हो।” तर परमेश्‍वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्‍यभिचारको निम्‍ति होइन, तर प्रभुको निम्‍ति हो, र प्रभु शरीरको निम्‍ति हुनुहुन्‍छ।

14 परमेश्‍वरले आफ्‍नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।

15 तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्‍टका अङ्गहरू लिएर तिनलाई वेश्‍याका अशुद्ध अङ्ग तुल्‍याऊँ? यो कदापि नहोस्‌!

16 वेश्‍यासँग जोडिने मानिस शरीरमा त्‍यससँग एक हुन्‍छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्‍तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्‌।”

17 तर जो प्रभुसँग एक हुन्‍छ, त्‍यो उहाँसँग आत्‍मामा एउटै हुनेछ।

18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।

19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।

20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy