Online Bible

- Reklamy -

१ कोरिन्थी 5 - नेपाली नयाँ संशोधित संस्करण


व्‍यभिचारको खण्‍डन

1 तिमीहरूका बीचमा व्‍यभिचार छ भन्‍ने कुरा पक्‍का गरी सुनिएको छ, यस्‍तो व्‍यभिचार जो अन्‍यजातिहरूमा पनि हुँदैन। तिमीहरूमध्‍ये कुनै एक जनाले आफ्‍नै बुबाकी पत्नी राखेको छ भन्‍ने सुनेको छु।

2 तिमीहरूचाहिँ घमण्‍ड गर्छौ। तिमीहरूले त शोक गर्नुपर्नेथिएन र? यस्‍तो काम गर्नेलाई तिमीहरूका बीचबाट हटाओ।

3 म शरीरमा उपस्‍थित नभए पनि आत्‍मामा तिमीहरूसँग छु। म उपस्‍थित भएझैँ गरी यस्‍तो काम गर्नेको न्‍याय मैले गरिसकेको छु।

4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा भेला हुन्‍छौ र म आत्‍मामा तिमीहरूसँग उपस्‍थित हुन्‍छु, अनि हाम्रा प्रभु येशूको शक्तिमा,

5 त्‍यस मानिसलाई शैतानकहाँ सुम्‍पिदेओ, ताकि त्‍यसको पापमय स्‍वभाव नाश होस्, अनि प्रभुको दिनमा त्‍यसको आत्‍माचाहिँ बाँचोस्‌।

6 तिमीहरूको घमण्‍ड ठीक होइन। अलिकता खमिरले जम्‍मै ढिकालाई खमिरा बनाइहाल्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन?

7 नयाँ ढिका बन्‍नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्‍तवमा अखमिरी नै हौ। हाम्रो निस्‍तारको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।

8 यसकारण हामी पुरानो खमिरले, अर्थात्‌ कुकर्म र दुष्‍टताको खमिरले होइन, तर निष्‍कपटता र सत्‍यताको अखमिरी रोटीले चाड मनाऔं।

9 मैले मेरो पत्रमा तिमीहरूलाई व्‍यभिचारीहरूको सङ्गत नगर्नू भनेर लेखेको थिएँ।

10 त्‍यसको अर्थ, यस संसारका व्‍यभिचारीहरू, लोभीहरू, वा लुटाहाहरू, वा मूर्तिपूजकहरूसँग बिलकुलै सङ्गत नगर्नू भनेको होइन, नत्रता तिमीहरू संसारबाट नै निस्‍किजानुपर्थ्‍यो।

11 तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।

12 किनकि बाहिरकाहरूको इन्‍साफ गर्नु मलाई के खाँचो? के तिमीहरूले मण्‍डली भित्रकाहरूको न्‍याय गर्नुपर्दैन र?

13 बाहिरकाहरूको न्‍याय परमेश्‍वरले नै गर्नुहुन्‍छ। “तिमीहरूले आफ्‍नो बीचबाट दुष्‍ट मानिसलाई निकालिदेओ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy