Online Bible

- Reklamy -

१ कोरिन्थी 3 - नेपाली नयाँ संशोधित संस्करण


मण्‍डलीमा विभाजन

1 भाइ हो, तिमीहरूसँग बोल्‍दा आत्‍मिक जनहरूसँग बोलेजस्‍तै म बोल्‍न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्‍टमा दूधे बालकसँग बोलेजस्‍तै म बोल्‍न सकें।

2 मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्‍यसको निम्‍ति तयार थिएनौ, अनि अझ पनि छैनौ।

3 तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्‍ने साधारण मानिसजस्‍ता भएनौ र?

4 किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्‍लोसको” भन्‍छ भने, सांसारिक मानिसजस्‍ता भएनौ र?

5 अपोल्‍लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ।

6 मैले रोपें, अपोल्‍लोसले पानी हाले, तर परमेश्‍वरले नै बढ़ाउनुभयो।

7 यसकारण रोप्‍ने केही होइन, न पानी हाल्‍ने केही हो, तर परमेश्‍वर मात्र, जसले वृद्धि दिनुहुन्‍छ।

8 रोप्‍ने र पानी हाल्‍ने एकै समान हुन्‌। हरेकले आफ्‍ना-आफ्‍नै मेहनतअनुसार आफ्‍नो ज्‍याला पाउनेछ।

9 किनकि हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्‍वरका खेत हौ, परमेश्‍वरका भवन हौ।

10 मलाई दिइएको परमेश्‍वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्‍तै मैले जग बसालें, र अर्काले त्‍यसमाथि घर बनाउँदैजान्‍छ। त्‍यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्‍यान देओस्‌।

11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।

12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,

13 प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।

14 यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।

15 यदि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ।

16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?

17 यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।

18 कसैले आफैलाई धोका नदेओस्‌। तिमीहरूमध्‍ये कसैले यस युगमा आफैलाई बुद्धिमान्‌ सम्‍झन्‍छ भने त्‍यो मूर्ख बनोस्, ताकि त्‍यो बुद्धिमान्‌ बन्‍न सकोस्‌।

19 किनकि संसारको बुद्धि परमेश्‍वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्‍छ।”

20 र फेरि, “बुद्धिमान्‌हरूका विचार व्‍यर्थ हुन्‌ भनी परमप्रभु जान्‍नुहुन्‍छ।”

21 यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्‌। किनकि सबै थोक तिमीहरूकै हुन्,

22 चाहे पावल, कि अपोल्‍लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्‍यु, वा वर्तमान, कि भविष्‍य, सबै तिमीहरूकै हुन्,

23 र तिमीहरू ख्रीष्‍टका हौ, अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy