१ कोरिन्थी 13 - नेपाली नयाँ संशोधित संस्करणप्रेम 1 मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु। 2 मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ। 3 यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। 4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। 5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। 6 प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ। 7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। 8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ। 9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ। 10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ। 11 जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ। 12 अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौं। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु। 13 अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society