Online Bible

- Reklamy -

१ कोरिन्थी 10 - नेपाली नयाँ संशोधित संस्करण


इस्राएलको इतिहासबाट चेताउनी

1 भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्‍छु, कि हाम्रा पुर्खाहरू सब बादलमुनि थिए, र सबै समुद्रको बीचबाट भएर गए।

2 अनि मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्‍तिस्‍मा पाएका थिए।

3 सबैले एउटै आत्‍मिक भोजन खाए।

4 सबैले आत्‍मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्‌ने आत्‍मिक चट्टानको पानी तिनीहरूले पिए र त्‍यो चट्टानचाहिँ ख्रीष्‍ट नै हुनुहुन्‍थ्‍यो।

5 तापनि तिनीहरूमध्‍ये धेरैजसोसँग परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरू मरुभूमिमा नष्‍ट भए।

6 उनीहरूले जस्‍तै हामीले खराबीको इच्‍छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्‌।

7 तिनीहरूमध्‍ये कतिझैँ तिमीहरू मूर्तिपूजक नहोओ। जस्‍तो लेखिएको छ, “मानिसहरू खान र पिउनलाई बसे, अनि नाच्‍नलाई उठे।”

8 हामी व्‍यभिचारमा फस्‍नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।

9 हामीले प्रभुको परीक्षा गर्नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कतिले गरे, र सर्पहरूद्वारा नष्‍ट भएका थिए।

10 हामीले गनगन गर्नुहुँदैन, जसरी तिनीहरूमध्‍ये कतिले गरे, र विनाशकबाट नष्‍ट भएका थिए।

11 यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्‍ति लेखिएका हुन्, जसमाथि युग-युगको अन्‍त्‍य आइसकेको छ।

12 यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्‍यो होशियार रहोस्, नत्रता त्‍यो लड्‌नेछ।

13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।


मूर्तिपूजाको भोज र प्रभु-भोज

14 यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस।

15 समझदार मानिसहरूलाई जस्‍तै गरी म भन्‍दैछु, मैले भनेका कुरा तिमीहरू आफै विचार गर।

16 आशिष्‌का त्यो कचौरा जुनको निम्‍ति हामी आशिष्‌ माग्‍छौं, के त्‍यो ख्रीष्‍टको रगतमा हुने सहभागिता होइन र? त्‍यो रोटी, जुन हामी भाँच्‍छौं, के त्‍यो ख्रीष्‍टको शरीरमा हुने सहभागिता होइन?

17 किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्‍छौं।

18 इस्राएल जातिलाई हेर, बलिदानको बस्‍तु खानेहरू, के वेदीका सहभागी भएनन्‌ र?

19 म के भन्‍न लागिरहेछु त? के मूर्तिलाई चढ़ाएको थोक केही हो र? अथवा मूर्ति नै केही चीज हो र?

20 त्‍यसो होइन, तर म यही भन्‍न लागिरहेछु, कि मूर्तिपूजकहरूले जो बलि चढ़ाउँछन्, त्‍यो परमेश्‍वरलाई होइन, तर भूतप्रेतलाई चढ़ाउँछन्, र तिमीहरू भूतप्रेतसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ।

21 तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्‍दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्‍दैनौ।

22 के हामीले प्रभुलाई डाही तुल्‍याउने? के हामी उहाँभन्‍दा शक्तिशाली छौं?


विश्‍वासीहरूको स्‍वतन्‍त्रता

23 “सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्‌।

24 कसैले पनि आफ्‍नो भलाइ नखोजोस्, तर आफ्‍नो छिमेकीको भलाइ खोजोस्‌।

25 मासु पसलहरूमा के बेचिन्‍छ, विवेकको खातिर केही सोधपूछ नगरी त्‍यो खाओ।

26 किनभने “पृथ्‍वी र त्‍यसमा भएका यावत्‌ थोकहरू सबै परमप्रभुकै हुन्‌।”

27 कुनै एक अविश्‍वासीले तिमीहरूलाई भोजमा निम्‍तो दिँदा, तिमीलाई जाने इच्‍छा भयो भने तिम्रो अगाडि जे राखिदिएको हुन्‍छ, विवेकको खातिर केही सोधपूछ नगरी खाओ।

28 तर कोही मानिसले तिमीलाई “यो त बलिमा चढ़ाएको हो” भन्‍यो भने, बताइदिनेको खातिर र विवेकको खातिर, त्‍यो नखाओ।

29 तिम्रो होइन, तर त्‍यसको विवेकको खातिर। मेरो स्‍वतन्‍त्रताको न्‍याय अर्काको विवेकले किन हुने र?

30 यदि धन्‍यवाद दिएर म खाँदैछु भने, धन्‍यवाद दिएर खाएको भोजको निम्‍ति किन मेरो निन्‍दा हुने?

31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।

32 कसैलाई ठेस लाग्‍ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्‍वरको मण्‍डलीलाई होस्‌।

33 जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्‍न राख्‍ने कोसिस गर्दछु, म आफ्‍नै होइन, तर धेरैको हित खोज्‍दछु, ताकि तिनीहरूको उद्धार होस्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy