Online Bible

- Reklamy -

१ इतिहास 5 - नेपाली नयाँ संशोधित संस्करण


रूबेनका सन्तान

1 इस्राएलका छोराहरूमध्‍ये सबैभन्‍दा जेठा रूबेनका छोराहरू (वास्‍तवमा तिनी पहिले जन्‍मेका छोरा थिए, तर तिनले आफ्‍ना पिताको एउटी उपपत्‍नीलाई व्‍यभिचार गरेको कारण ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, र तिनीचाहिँ सूचीमा जेठा छोरा गनिन सकिएनन्‌।

2 अनि यहूदा आफ्‍ना भाइहरूमध्‍ये सबैभन्‍दा बलिया भए पनि, र तिनीबाट एउटा शासक आए तापनि ज्‍येष्‍ठ अधिकार योसेफको नै भयो)—

3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी।

4 योएलका सन्‍तान: आफ्‍ना छोरा शमायाह, तिनका छोरा गोग, तिनका छोरा शिमी,

5 तिनका छोरा मीका, तिनका छोरा रायाह, तिनका छोरा बाल,

6 र तिनका छोरा बीरह, जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले कैद गरेर लगे। बीरह रूबेनीहरूका एक प्रधान थिए।

7 तिनीहरूका कुटुम्‍बहरू, जो वंश-वंश गरी आफ्‍नो वंशावलीको सूचीमा लेखिएका छन्‌: प्रधान यीएल, जकरिया,

8 अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरमा बस्‍थे, र तिनीहरूको देश नेबो र बाल-मोनसम्‍म फैलियो।

9 पूर्वपट्टि तिनीहरूले यूफ्रेटिस नदीसम्‍म फैलिएको मरुभूमिको किनारसम्‍म एउटा इलाका ओगटेका थिए, किनभने गिलादमा तिनीहरूका गाईबस्‍तुको संख्‍या बढ़ेको थियो।

10 शाऊलको राजकालमा तिनीहरूले हग्रीहरूसँग युद्ध गरेर उनीहरूलाई जिते, र गिलादको पूर्वपट्टिका सबै देशमा भएका उनीहरूका छाउनीहरूलाई ओगटे।


गादका सन्‍तान

11 गादीहरू तिनीहरूका नजिक बाशानमा सलकासम्‍मै बसेका थिए:

12 योएल प्रधान थिए, दर्जामा दोस्रो शापाम, त्यसपछि बाशानमा यानै र शाफात।

13 तिनीहरूका कुटुम्‍बहरू आ-आफ्‍ना परिवारअनुसार: मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना।

14 यिनीहरू बूजका छोरा यहदोका छोरा यशीशैका छोरा मिखाएलका छोरा गिलादका छोरा यारोहका छोरा हूरीका छोरा अबीहेलका छोराहरू थिए।

15 गुनीका छोरा अब्‍दीएलका छोरा अही तिनीहरूका परिवारका प्रधान थिए।

16 गादीहरू गिलादमा, बाशान र त्‍यसका गाउँहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका ठाउँसम्‍मै बस्‍दथे।

17 यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका शासनकालमा यी सबै नाम वंशावलीका सूचीमा लेखिएका थिए।

18 रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुल— तिनीहरूका ढाल र तरवारले सुसज्‍जित भएका लड़ाकू मानिसहरू, धनुर्धारी र लड़ाइँको निम्‍ति तालीम पाएका सिपाहीहरू चवालीस हजार सात सय साठी जना थिए। यिनीहरू लड़ाइँको निम्‍ति तयार थिए।

19 तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबसित युद्ध गरे।

20 लड़ाइँमा सहायताको निम्‍ति तिनीहरूले आफ्‍ना परमेश्‍वरलाई पुकारेको कारण तिनीहरूलाई उनीहरूका विरुद्धमा सहायता दिइयो। तिनीहरूले उहाँमाथि भरोसा गरेका थिए, यसैकारण उहाँले तिनीहरूको प्रार्थना सुन्‍नुभयो। हग्रीहरू र उनीहरूका सबै मित्रराष्‍ट्रहरूले आत्‍मसमर्पण गरे।

21 तिनीहरूले उनीहरूका गाईबस्‍तुहरू, पचास हजार ऊँट, दुई लाख पचास हजार भेड़ा र दुई हजार गधा लगे, र एक लाख जनालाई कैद गरे।

22 अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्‍वरतर्फबाट भएको थियो। तिनीहरू आफै कैदमा नलगिउञ्‍जेलसम्‍म तिनीहरूले त्‍यो देशमा बसोबास गरे।


मनश्‍शेको आधा कुलका सन्‍तान

23 मनश्‍शेका आधा कुलले बाशानदेखि बाल-हेर्मोन, अर्थात्‌ सेनीर (हेर्मोन डाँड़ा) सम्‍म बसोबास गरे, र तिनीहरू संख्‍यामा अनगन्‍ती भए।

24 तिनीहरूका परिवारका मुख्‍य मानिसहरू यी नै हुन्‌: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। ती सबै वीर र नामी-नामी मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए।

25 तर तिनीहरूले आफ्‍ना पिता-पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा पाप गरे, र परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएका मानिसहरूका देवताहरूलाई पुजेर वेश्‍यासमान गरे।

26 यसैले इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूल, अर्थात्‌ अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरलाई उक्‍साउनुभयो, र उनले रूबेन, गाद र मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैद गरेर लगे। उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, र त्‍यहाँ तिनीहरू आजको दिनसम्‍म छन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy