Online Bible

- Reklamy -

१ इतिहास 26 - नेपाली नयाँ संशोधित संस्करण


द्वारपालहरू

1 द्वारपालहरूका दलहरू: कोरहीहरूबाट: कोरेका छोरा मेशेलेम्‍याह (कोरेचाहिँ आसापका छोराहरूमा एक थिए)।

2 मेशेलेम्‍याहका छोराहरू: जेठा जकरिया, माहिला येदीएल, साहिँला जबदियाह, काहिँला यत्‍नीएल,

3 अन्‍तरे एलाम, जन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै।

4 ओबेद-एदोमका छोराहरू: जेठा शमायाह, माहिला यहोजाबाद, साहिँला योआ, काहिँला साकार, अन्‍तरे नतनेल,

5 जन्‍तरे अम्‍मीएल, खन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै। (किनभने परमेश्‍वरले ओबेदएदोमलाई आशिष्‌ दिनुभएको थियो।)

6 तिनका छोरा शमायाहका छोराहरू पनि थिए। तिनीहरू आफ्‍ना पिताको परिवारमा नायकहरू थिए, किनभने तिनीहरू खूब योग्‍यता भएका मानिसहरू थिए।

7 शमायाहका छोराहरू: ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद। तिनका कुटुम्‍ब एलीहू र समक्‍याह पनि योग्‍यता भएका मानिसहरू थिए।

8 यी सबै ओबेदएदोमका सन्‍तानहरू थिए। तिनीहरू र तिनीहरूका छोराहरू र दाजुभाइहरू योग्‍यता भएका मानिसहरू थिए, अनि काम गर्नका निम्‍ति तिनीहरूको शक्ति पर्याप्‍त थियो। तिनीहरू जम्‍मा ६२ जना थिए।

9 मेशेलेम्‍याहका छोराहरू र दाजुभाइहरू सबै योग्‍यता भएका मानिसहरू थिए— १८ जना।

10 मरारी होसाका छोराहरू: जेठाचाहिँ शिम्री (तिनी जेठा थिएनन्, तर तिनका पिताले तिनलाई जेठा तुल्‍याएका थिए),

11 माहिला हिल्‍कियाह, साहिँला तबलियाह र कान्‍छा जकरिया। होसाका छोराहरू र दाजुभाइहरू जम्‍मा १३ जना थिए।

12 द्वारपालका दलहरूका यी प्रधान-प्रधान पुरुषहरू आफ्‍ना कुटुम्‍बहरूझैँ परमप्रभुको मन्‍दिरको सेवाको निम्‍ति छुट्ट्याइएका थिए।

13 जवान र बूढ़ा दुवैले आफ्‍ना घराना-घरानाअनुसार हरेक मूल ढोकाको निम्‍ति चिट्ठा हाले।

14 पूर्व ढोकाको लागि शेलेम्‍याहको नाउँमा पर्‍यो। त्‍यसपछि तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको नाउँमा उत्तर ढोका पर्‍यो।

15 ओबेद-एदोमलाई चाहिँ दक्षिण ढोका पर्‍यो, र तिनका छोराहरूलाई ढुकुटी पर्‍यो।

16 शुप्‍पीम र होसालाई पश्‍चिम ढोका र उकालो लाग्‍ने बाटोको शल्‍केत ढोका पर्‍यो। एउटा पाले अर्को पालेको नजिकै थियो।

17 छ जना लेवीहरू दिनहुँ पूर्वतिर, चार जना उत्तरतिर, चार जना दक्षिणतिर र दुई-दुई जना ढुकुटीको पहरा बस्‍थे।

18 अनि पश्‍चिमको चोकमा जाने बाटोमा चार जना र चोकमा नै दुई जना थिए।

19 कोरही र मरारीका सन्‍तानमध्‍येका द्वारपालका दलहरू यी नै थिए।


कोषाध्‍यक्ष र अरू अधिकारीहरू

20 तिनीहरूका सङ्गी-लेवीहरूलाई परमप्रभुको भवनका भण्‍डारहरू र अर्पण गरिएका थोकहरूका भण्‍डारको जिम्‍मा दिइएको थियो।

21 लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका प्रधानहरू थिए:

22 यहीएली र तिनका छोराहरू, र जेताम र तिनका भाइ योएल। तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए।

23 अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्‍जीएलीहरूबाट:

24 मोशाका छोरा गेर्शोमका सन्‍तान शूबाएल भण्‍डारहरूका अधिकृत थिए।

25 एलीएजरबाट तिनका कुटुम्‍बहरू: तिनका छोरा रहब्‍याह, तिनका छोरा यशयाह, तिनका छोरा योराम, तिनका छोरा जिक्री, तिनका छोरा शलोमीत थिए।

26 दाऊद राजा, परिवार-परिवारका मुखियाहरू, जो हजार र सयका फौजका अधिकृतहरू थिए, र सेनाका अरू अधिकृतहरूले समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका कुटुम्‍बहरूलाई दिइएको थियो।

27 तिनीहरूले लड़ाइँमा लिएका कुनै-कुनै लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति तिनीहरूले समर्पण गरेका थिए।

28 दर्शी शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले समर्पण गरेका सबै थोक, अनि अर्पण गरिएका अरू सबै थोकहरू शलोमीत र तिनका कुटुम्‍बहरूको जिम्‍मामा थिए।

29 यिसहारीहरूबाट: कनन्‍याह र तिनका छोराहरू मन्‍दिरसम्‍बन्‍धी नभएको अरू काममा, अर्थात्‌ इस्राएलका अधिकारी र न्‍यायकर्ताको काममा खटाइएका थिए।

30 हेब्रोनीहरूबाट: हशब्‍याह र तिनका कुटुम्‍बहरू, सत्र सय योग्‍य मानिसहरूचाहिँ यर्दन नदीका पश्‍चिमतिरको इस्राएलमा परमप्रभुको काम र राजाको सेवाका कामको हेर-विचार गर्नेहरू थिए।

31 हेब्रोनका परिवारहरूको वंशावलीअनुसार यरियाहचाहिँ प्रधान थिए। दाऊदका शासनको चालीसौँ वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए।

32 यरियाहका दुई हजार सात सय योग्‍य कुटुम्‍बहरू थिए, जो परिवार-परिवारका मुखियाहरू थिए। यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू तुल्‍याए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy