१ इतिहास 23 - नेपाली नयाँ संशोधित संस्करणलेवीहरू 1 जब दाऊद वृद्ध र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए। 2 तिनले इस्राएलका सबै कुलनायक, पूजाहारीहरू र लेवीहरूलाई भेला गराए। 3 लेवीहरूमध्ये तीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू गनिए। तिनीहरूका पुरुषहरू सबै जम्मा अठतीस हजार थिए। 4 तिनीहरूमध्येका चौबीस हजारचाहिँ परमप्रभुका मन्दिरको कामको रेखदेख गर्न, छ हजार अधिकृत र न्यायकर्ताहरू, 5 चार हजार द्वारपालहरू, र चार हजारचाहिँ दाऊदले दिएका बाजा बजाएर परमप्रभुको स्तुतिगान गर्न तिनले खटाइदिए। 6 दाऊदले तिनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम भाग-भाग गरी विभाजन गरे। गेर्शोनीहरू 7 गेर्शोनीहरूका सन्तान: लादान र शिमी। 8 लादानका छोराहरू: जेठा छोरा यहीएल, जेताम र योएल— तीन जना। 9 शिमीका छोराहरू: शलोमोत, हजीएल र हारान— तीन जना। लादानका परिवारका मुखियाहरू यी नै थिए। 10 अनि शिमीका छोराहरू: यहत, जीजा, येऊश र बरीआ— चार जना। 11 यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्ति एकै परिवारमा गनिए। कहातीहरू 12 कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल चार जना। 13 अम्रामका छोराहरू: हारून र मोशा। हारूनलाई चाहिँ अलग गरिएको थियो। तिनी र तिनका सन्तान सधैँको लागि अनि पवित्र कुराहरू अर्पण गर्न, परमप्रभुको सामु बलिदानहरू चढ़ाउन, र उहाँको सामु सेवा गर्न र उहाँको नाउँमा सधैँ आशीर्वाद दिन अलग गरिएका थिए। 14 परमप्रभुका जन मोशाका छोराहरूचाहिँ लेवीकै कुलका कहलाइए। 15 मोशाका छोराहरू: गेर्शोम र एलीएजर। 16 गेर्शोमका सन्तान: शूबाएलचाहिँ जेठा थिए। 17 एलीएजरका सन्तान: रहब्याहचाहिँ जेठा थिए। एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू औधी धेरै थिए। 18 यिसहारका छोराहरू: शलोमीतचाहिँ जेठा थिए। 19 हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम। 20 उज्जीएलका छोराहरूमा: मीकाचाहिँ जेठा र दोस्रा यिशियाह। मरारीहरू 21 मरारीका छोराहरू: महली र मूशी। महलीका छोराहरू: एलाजार र कीश। 22 एलाजार मर्दा तिनका छोरीहरू मात्र थिए, छोराहरू थिएनन्। यसैले तिनका दाजुभाइहरू, अर्थात् कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे। 23 मूशीका छोराहरू: महली, एदेर र यरीमोत— तीन जना। 24 सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्तान, आ-आफ्ना परिवारका मुखियाहरू, बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्दिरमा सेवा गर्थे, तिनीहरू यस्तै थिए। 25 किनभने दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो प्रजालाई शान्ति दिनुभएको छ, र यरूशलेममा सदासर्वदा उहाँ वास गर्न आउनुभएको छ। 26 यसैकारण लेवीहरूले फेरि कहिल्यै पवित्र वासस्थान अथवा त्यसको सेवामा प्रयोग गरिने भाँड़ाहरू बोक्नुपर्नेछैन।” 27 दाऊदका यी नै पछिल्ला वचनद्वारा बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका लेवीहरू गनिए। 28 लेवीहरूको काम परमप्रभुका मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सघाउनु थियो। चोक र कोठाहरूको रेखदेख गर्नु, सबै पवित्र थोकहरू शुद्ध पार्नु, परमेश्वरका भवनको सेवाको अरू काम गर्नु, 29 अनि टेबिलमा राखिएको रोटी मिलाउनु, अन्नबलिको पीठो, अखमिरी बाबर, पोलेका र तेलमा पकाएका फुरौला र ढक र तराजू तयार गर्नु— यी सबै कामको जिम्मा तिनीहरूको थियो। 30 परमप्रभुलाई सधैँ बिहान र बेलुका, अनि शबाथ, औंसी र ठहराइएका चाड़हरूमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने बेलामा 31 तिनीहरू धन्यवाद दिने र स्तुति गर्ने काममा विधिपूर्वक र निरन्तर लागिरहनुपर्थ्यो। 32 यसरी लेवीहरूले भेट हुने पाल र पवित्रस्थानको जिम्मा, अनि तिनीहरूका कुटुम्ब हारूनका सन्तानहरूको अधिकारमुनि परमप्रभुका मन्दिरको सेवाको जिम्मा लिनुपर्थ्यो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society