१ इतिहास 22 - नेपाली नयाँ संशोधित संस्करणमन्दिरको निर्माणको तयारी 1 तब दाऊदले भने, “परमप्रभु परमेश्वरका भवनको स्थान यही हुनेछ, र यही नै इस्राएलको निम्ति होमबलिको वेदी पनि हुनेछ।” 2 तब दाऊदले इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला हुने हुकुम गरे, र तिनीहरूलाई ढुङ्गा काटेर तयार गर्न परमप्रभुको भवन बनाउने काममा खटाए। 3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्ति धेरै फलाम दिए, र काँसा जोखी नसक्ने गरी पनि दिए। 4 अनि देवदारुका काठ बेहिसाब थुपारे, किनभने सीदोनी र टुरोसका मानिसहरूले दाऊदको निम्ति प्रशस्त मात्रामा देवदारु ल्याइदिए। 5 दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै छ। परमप्रभुको निम्ति निर्माण गरिने भवन अत्यन्तै शोभायमान र सबै देशमा प्रसिद्ध र नाउँ चलेको हुनुपर्छ। यसकारण त्यो निर्माण गर्नलाई मैले नै सबै तयारी गर्नेछु।” यसैले आफ्नो मृत्युअघि नै दाऊदले प्रचुर सामान तयार गर्न लागे। 6 तिनले आफ्ना छोरा सोलोमनलाई बोलाइपठाए, र परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा भवन निर्माण गर्ने आज्ञा दिए। 7 तिनले सोलोमनलाई भने, “हे मेरो छोरो, परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा भवन निर्माण गर्ने मेरो अभिप्राय थियो। 8 तर परमप्रभुले मलाई मनाही गरेर भन्नुभयो, ‘तैंले धेरै रक्तपात र ठूला-ठूला युद्ध गरेको छस्। मेरो नाउँको निम्ति तैंले यो भवन निर्माण गर्नेछैनस्, किनभने मेरो दृष्टिमा तैंले पृथ्वीमा धेरै रक्तपात गरेको छस्। 9 तर तेरो एउटा छोरो हुनेछ, जो शान्तिको मानिस हुनेछ। म चारैतिर त्यसका सबै शत्रुहरूबाट त्यसलाई शान्ति दिनेछु। त्यसको नाउँ सोलोमन हुनेछ। त्यसको राजकालमा म इस्राएललाई शान्ति र चैन दिनेछु। 10 त्यसैले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ। त्यो मेरो छोरो हुनेछ, र म त्यसका पिता हुनेछु। अनि म इस्राएलमा सदासर्वदाको लागि त्यसको राज्यको सिंहासन स्थिर गर्नेछु’। 11 “अब हे मेरो छोरो सोलोमन, परमप्रभु तँसँग रहून्। तैंले नै बनाउनुपर्छ भनी उहाँले भन्नुभएअनुसार तेरो उन्नति होस्, र तैंले परमप्रभु तेरा परमेश्वरको घर बना। 12 परमप्रभुले तँलाई बुद्धि र ज्ञान देऊन्, कि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्वरको व्यवस्था पालन गर्। 13 इस्राएलको निम्ति मोशालाई परमप्रभुले आदेश दिनुभएअनुसार यदि तँ उहाँका विधि र नियमहरू पालन गर्नलाई होशियार भइस् भने तेरो उन्नति हुनेछ। साहसी र दृढ़ हो, निर्बल र निरुत्साहित नहो। 14 “ज्यादै दु:ख उठाएर मैले परमप्रभुका मन्दिरको निम्ति एक लाख तोड़ा सुन, दश लाख तोड़ा चाँदी, जोख्नै नसकिने काँसा र फलाम जोहो गरिराखेको छु। काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु। तैंले त्यसमा अरू थप्न सक्छस्। 15 त्यसबाहेक तँसित धेरै कारीगर, डकर्मी, ढुङ्गा काट्ने, सिकर्मीहरू, 16 अनि सुन, चाँदी, काँसा र फलामका सबै किसिमका काम गर्ने अनगन्ती निपुण मानिसहरू पनि छन्। यसैकारण अब काम सुरु गर्, र परमप्रभु तँसित होऊन्।” 17 दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर हुकुम गरे, 18 “के परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्न? के उहाँले तिमीहरूलाई चारैतिर शान्ति दिनुभएको छैन? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मेरो अधीनमा राख्नुभएको छ। उनीहरू परमप्रभु र उहाँका प्रजाको अधीनमा छन्। 19 अब परमप्रभु तिमीहरूका परमेश्वरको अगुवाइ खोज्न आफ्नो तनमन लगाओ। उहाँको पवित्रस्थान निर्माण गर्नमा लाग, ताकि तिमीहरूले परमप्रभुका करारको सन्दूक र परमेश्वरका पवित्र भाँड़ाकुँड़ाहरू उहाँको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society