१ इतिहास 20 - नेपाली नयाँ संशोधित संस्करणरब्बा सहरको कब्जा 1 बसन्त ऋतु लाग्दा जब राजाहरू लड़ाइँ गर्न जान्थे, तब योआबले सेना लिएर अम्मोनीहरूको देशलाई उजाड़ पारे, र रब्बा सहरमा गएर त्यसलाई घेरा हाले। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। योआबले त्यस सहरलाई ध्वंस गरेर धूलोपीठो पारे। 2 दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे। त्यसको तौल सुनको एक तोड़ा थियो, र त्यसमा बहुमूल्य रत्नहरू पनि जड़ेका थिए। त्यो शिरपेच दाऊदको आफ्नो शिरमा लाइयो। तिनले त्यस सहरबाट धेरै परिणाममा लूटका मालहरू ल्याए। 3 तिनले त्यहाँका बासिन्दाहरूलाई आरा र फलामका अरू हतियारहरू र बन्चराहरूले काम गर्न लाए। दाऊदले अम्मोनीहरूका सबै सहरमा यसरी नै गरे। त्यसपछि तिनी र तिनका सबै मानिसहरू यरूशलेममा फर्के। पलिश्तीहरूसँगको युद्ध 4 यसको केही समयपछि गेजेरमा पलिश्तीहरूसँग लड़ाइँ भयो। त्यसै बेला हूशाती सिब्बकैले रपाईहरूका एक सन्तान सिप्पैलाई मारे, र पलिश्तीहरू परास्त भए। 5 पलिश्तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्हानानले गित्तीको गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बीँड़ कपड़ा बुन्ने जुलाहाको डन्डा जत्रो थियो। 6 गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा छ-छ औँला, जम्मा चौबीस औँला भएको एउटा राक्षस देखा पर्यो। त्यो पनि रफाको सन्तान थियो। 7 जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे। 8 यी राक्षसहरू गातमा रफाका सन्तानहरू थिए। तिनीहरू सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society