१ इतिहास 19 - नेपाली नयाँ संशोधित संस्करणअम्मोनीहरूका विरुद्ध लडाइँ 1 केही समयपछि अम्मोनीहरूका राजा नाहाशको मृत्यु भयो, र तिनको सट्टामा उनका छोरा राजा भए। 2 दाऊदले भने, “नाहाशका छोरा हानूनसित मैले त्यही साँचो मित्रता राख्नुपर्छ जस्तो उनका पिताले मलाई देखाएका थिए।” यसैले उनका पिताको मृत्युमा सहानुभूति प्रकट गर्न तिनले दूतहरू पठाए। जब दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्मोनीहरूको देशमा पसे, 3 तब अम्मोनी भारदारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई मान गरेका हुन् भनी के तपाईं सम्झनुहुन्छ? तपाईंको देश कसरी नाश गर्न भनी जान्न पठाएका दाऊदका यी मानिसहरू त तिनका जासूसहरू होइनन् र?” 4 यसकारण हानूनले दाऊदका मानिसहरूलाई समातेर तिनीहरूका कपाल खौरिदिए, र तलदेखि जाँघसम्म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए। 5 जब तिनीहरूमाथि गरिएको त्यो व्यवहारको विषय दाऊदले सुने, तब तिनले तिनीहरूसित भेट गर्न समाचारवाहकहरू पठाए, किनकि तिनीहरूको साह्रै बेइज्जत गरिएको थियो। तिनीहरूका दाह्री फेरि नबढुञ्जेल यरीहोमा नै बस्न भनी तिनले हुकुम गरे। 6 जब अम्मोनीहरूले आफूहरूलाई दाऊदको दृष्टिमा घृणित तुल्याएछौं भनी थाहा पाए, तब हानून र अम्मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्यालामा ल्याउन एक हजार तोड़ा चाँदी पठाए। 7 उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्ने छाउनी बनाए। अम्मोनीहरूचाहिँ आ-आफ्ना सहरहरूबाट आएर लड़ाइँको निम्ति भेला भए। 8 दाऊदले यो कुरा सुनेर योआब र जम्मै लड़ाकू मानिसहरूलाई पठाए। 9 अम्मोनीहरू आएर सहरमा जाने मूल ढोकामा लड़ाइँ गर्न तयार भए, र उनका मित्र-राजाहरूले खुला मैदानमा आ-आफ्नो स्थान लिए। 10 जब योआबले आफूलाई अगि र पछि दुवैतिर लड़ाइँले घेरेको थाहा पाए, तब तिनले कुनै-कुनै चुनिएका असल इस्राएली फौजलाई अरामीहरूको सामना गर्न पठाए। 11 तिनका अरू बाँकी फौजलाई तिनले आफ्ना भाइ अबीशैको अधीनमा दिए, र तिनले अम्मोनीहरूको सामना गर्नलाई स्थान लिए। 12 योआबले भने, “यदि अरामीहरू मेरो निम्ति साह्रै शक्तिशाली भए तिमी मेरो सहायता गर्न आउनू। यदि अम्मोनीहरू तिम्रो निम्ति साह्रै शक्तिशाली भए म तिमीलाई सहायता गर्न आउनेछु। साहसिलो होऊ! 13 हामी आफ्ना जाति र हाम्रा परमेश्वरका सहरहरूका निम्ति साहससित लड़ाइँ गरौं। अनि परमप्रभुको दृष्टिमा जे असल छ उहाँले त्यही गर्नुहुनेछ।” 14 तब योआब र तिनका मानिसहरू अरामीहरूका नजिकै गएर उनीहरूलाई खेदे। 15 अनि अम्मोनीहरूले अरामीहरूलाई भागेका देखेर उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब यरूशलेममा फर्के। 16 अरामीहरूले “हामी त इस्राएलीहरूद्वारा परास्त भएका छौं” भनी देखेर यूफ्रेटिस नदीको पारिबाट हददेजेरका सेनापति शोपकको अधीनमा भएका अरू अरामीहरूलाई बोलाइपठाए। 17 उनीहरूको यो कुरा दाऊदलाई सुनाइयो। तब तिनले झट्टै इस्राएलका सबै फौजलाई भेला गरेर यर्दन नदी पार गरी उनीहरूसँग लड़ाइँ गर्न मोर्चा बाँधे। अरामीहरूले पनि त्यस्तै गरी दाऊदको सामना गर्न मोर्चा बाँधेर तिनीसँग लड़ाइँ गरे। 18 तर इस्राएलीहरूले उनीहरूलाई खेदे। दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू र सेनापति शोपकलाई पनि मारे। 19 हददेजेरका मानिसहरूले आफूलाई इस्राएलीहरूले परास्त गरेका देखेर सन्धिको निम्ति बिन्ती चढ़ाए, र दाऊदकहाँ आत्मसमर्पण गरे। यसकारण अरामीहरू फेरि कहिल्यै अम्मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society