१ इतिहास 14 - नेपाली नयाँ संशोधित संस्करणदाऊदका घर र परिवार 1 टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। उनले देवदारुका काठहरू र डकर्मी र सिकर्मीहरू तिनको निम्ति एउटा महल बनाउन पठाए। 2 अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्याउनुभयो र उहाँको प्रजा इस्राएलको खातिर आफ्नो राजकीय शक्तिलाई उच्च पार्नुभयो भनी दाऊदलाई थाहा भयो। 3 दाऊदले यरूशलेममा अझ धेरै विवाह गरे, र तिनका अरू धेरै छोराछोरीहरू भए। 4 यरूशलेममा जन्मेका तिनका छोराछोरीहरूका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, 5 यिभार, एलीशूअ, एल्पेलेत, 6 नोगह, नेपेग, यापी, 7 एलीशामा, बेलीयादा र एलीपेलेत। पलिश्तीहरूमाथि दाऊदको विजय 8 दाऊद सारा इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू समस्त फौज लिएर तिनलाई खोज्न निस्के। यो सुनेर दाऊद उनीहरूको सामना गर्न गए। 9 अब पलिश्तीहरूले आएर रपाईहरूको बेँसी लुटेका थिए। 10 यसैकारण दाऊदले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईं उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुन्छ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म उनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।” 11 यसैले दाऊद र तिनका मानिसहरू उक्लिगए र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर जिते। दाऊदले भने, “नदीले त्यसको किनार भत्काएझैँ परमेश्वरले मद्वारा मेरा शत्रुहरूको पङ्क्तिलाई भत्काइदिनुभयो।” यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम राखियो। 12 पलिश्तीहरूले त्यहाँ आफ्ना देवताहरू छोड़ेका थिए, र दाऊदले ती जलाइदिन भनी हुकुम दिए। 13 पलिश्तीहरूले अर्को एक पल्ट बेँसीमा लूटपीट गरे। 14 फेरि दाऊदले परमेश्वरसँग सोधे, र परमेश्वरले तिनलाई भन्नुभयो, “यस पल्ट तँ उनीहरूको पछिल्तिर जानुपर्छ। उनीहरूलाई आक्रमण नगरिकन घुमेर लहरे-पीपलका रूखहरूका सामुन्नेबाट उनीहरूमाथि जाइलाग्। 15 त्यसपछि रूखहरूका टुप्पा-टुप्पामा हुरुरुरु आवाज आउने बित्तिकै उनीहरूसँग लड़ाइँ गर्, किनभने परमेश्वर तिमीहरूका अगिअगि पलिश्तीको सेनालाई प्रहार गर्न जानुहुनेछ।” 16 परमेश्वरले आज्ञा गर्नुभएझैँ दाऊदले गरे, र तिनीहरूले पलिश्ती सेनालाई गिबोनदेखि गेजेरसम्मै प्रहार गरे। 17 यसैले दाऊदको ख्याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जाति-जातिहरूमाथि तिनको डर हालिदिनुभयो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society