Online Bible

- Reklamy -

१ इतिहास 10 - नेपाली नयाँ संशोधित संस्करण


शाऊलको आत्महत्या

1 पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे, र इस्राएलका मानिसहरू गिल्‍बो डाँड़ामा आफ्‍ना मरेकाहरूलाई छोड़ेर भागे।

2 पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई खूब खेदे, र तिनका तीनै जना छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे।

3 युद्ध शाऊलको निम्‍ति कठिन भयो, किनभने कुनै-कुनै धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र तिनी उनीद्वारा घाइते भए।

4 यसैले शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्‌, र यी खतना नभएकाहरूले मलाई पक्रेर मलाई तमाशा नबनाऊन्‌।” तर त्‍यस हतियार बोक्‍नेले इन्‍कार गर्‍यो। त्‍यसले आँटै गरेन। यसकारण आफ्‍नो तरवार थुतेर शाऊल त्‍यसमाथि उनिएर मरे।

5 जब त्‍यस हतियार बोक्‍नेले शाऊल मरेका देख्‍यो, तब त्‍यो पनि आफ्‍नो तरवारमा उनिएर मर्‍यो।

6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनका जम्‍मै परिवार एकै चोटि मरे।

7 जब बेँसीमा भएका सबै इस्राएलीहरूले आफ्‍ना सेना भागेका र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू पनि त्‍यसै गरी आफ्‍ना सहरहरू छोड़ेर भागे। अनि पलिश्‍तीहरू त्‍यहाँ गएर तिनलाई कब्‍जा गरे।

8 भोलिपल्‍ट जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँड़ामा मरेका भेट्टाए।

9 उनीहरूले तिनलाई नङ्‌ग्‍याए, तिनका टाउको काटे, र तिनका हतियारहरू लगे। त्‍यसपछि उनीहरूले पलिश्‍तीहरूको देशका चारैतिर आफ्‍ना मूर्तिहरू र मानिसहरूलाई यो सुसमाचार दिन समाचारवाहकहरू पठाए।

10 उनीहरूले तिनका हतियारहरू आफ्‍ना देवताहरूको मन्‍दिरमा राखे, र तिनको टाउको चाहिँ दागोनको मन्‍दिरमा झुण्‍ड्याए।

11 जब पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा याबेश-गिलादका मानिसहरूले सुने,

12 तब शाऊल र तिनका छोराहरूका मृत-शरीर ल्‍याउन तिनीहरूका वीर-वीर मानिसहरू एकसाथ गए। तिनीहरूले ती याबेशमा ल्‍याए, र तिनीहरूका हड्डीहरू त्‍यहाँ झ्‍याउको बोटमुनि गाड़े, र सात दिनसम्‍म तिनीहरू उपवास बसे।

13 यसरी शाऊलले आफ्‍नो अविश्‍वासले गर्दा ज्‍यान गुमाउनुपर्‍यो। तिनले परमेश्‍वरको वचनलाई उल्‍लङ्घन गरेर भूतप्रेत खेलाउनेको सरसल्‍लाह लिएका थिए।

14 तिनले परमप्रभुको सल्‍लाह लिएनन्‌। यसकारण उहाँले तिनलाई नाश गर्नुभयो, र राज्‍य यिशैका छोरा दाऊदलाई सुम्‍पनुभयो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy