श्रेष्ठगीत 8 - पवित्र बाइबल1 आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै, तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिएँ अनि तिमीलाई म्वाई खाने थिएँ। र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्। 2 जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन्, म तिमीलाई ती जननीको घरको त्यो कोठामा लैजाने थिएँ। म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको रसले बनिएको मसला युक्त मद्य दिने थिए। तिनले स्त्रीहरूलाई भन्छिन् 3 उनको देब्रे हात मेरो टाउको मुनि छ अनि दाहिने हातले मलाई समात्नु भएको छ। 4 हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि जबसम्म म यसको निम्ति तैयारी हुँदिन। मलाई प्रेमले उत्तेजित पार्ने छैन। यरूशलेमका स्त्रीहरू बोल्छन् 5 ती स्त्री को हुन्? जो आफ्नो प्रेमीसित अढेसिएर मरुभूमिबाट आउँदै छिन्। मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ, जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन्, जहाँ तपाईंको जन्म भएको थियो। तिनले उसलाई भन्छिन् 6 मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस्, यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ, कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ। 7 के कसैले आफ्नो प्रेमका निम्ति, आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र? तिनका दाज्यू-भाइहरू बोल्छन् 8 हाम्री सानी बहिनी छ अनि जसको स्तन विकाश भएकै छैन, यदि कसैले तिनलाई विवाह गर्न खोजे, हामीले बहिनीको लागि के गर्नु पर्ने? 9 यदि तिनी पर्खाल हुँदी हुन त, तिनको वरिपरी चाँदी मोरेर चिटिक्क पार्ने थियौं, यदि तिनी ढोका हुँदी हो त, हामीले देवदारूको फल्याकले वरिपरी बार्ने थियौं। तिनले आफ्ना दाज्यूहरूलाई उत्तर दिन्छिन् 10 म एउटा पर्खाल हुँ, मेरा स्तनहरू धरहराहरू जस्तै छन्। म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु। उनी भन्छन् 11 बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो, तिनले आफ्नो बगैंचा रखवालहरू दिए, र प्रत्येक रखवालले 1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये। 12 सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ। उसले तिम्रोलागि ल्याएको दाखको सट्टामा! प्रत्येक रखवालालाई 200 शेकेल देऊ, तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु। मेरो अघिको यो दाखबारी मेरो आफ्नै हो। उनी स्त्रीलाई भन्छन् 13 बगैंचामा तिमी नै बस, साथीहरूले तिम्रो आवाज सुनिरहेका छन्, तिमी मलाई पनि सुन्न देऊ। तिनी ऊसित बोल्छिन् 14 हे प्रियतम, चाँडो गर्नु होस्। अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण, अथवा मृगका पाठा जस्तै हुनु होस्। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International