प्रकाश 6 - पवित्र बाइबलभेंड़ाको पाठोले चर्म-पत्र खोल्दछन् 1 तब, भेंडा़को पाठाले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरें। मैले ती चार सजीव वस्तुहरू मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुनें, “आऊ”। 2 अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे। 3 भेंडा़को पाठाले दोस्रो मोहर खोल्यो। तब मैले दोस्त्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। 4 तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरूलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो। 5 त्यो भेंडा़को पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो। 6 तब मैले केही आवाज जस्तै सुनें। त्यो स्वर ती चार सजीव वस्तुहरू भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको परिश्रमिक तीन किलो जौं, तर तेल अनि दाखरस नष्ट नपार्नु।” 7 त्यो भेंडा़को पाठाले चौथो मोहर खोल्यो। तब मैले चौथो सजीव वस्तुले “आऊ” भनेको सुनें। 8 मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरूलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरूद्वारा मानिसहरूलाई मार्ने अधिकार दिइएको थियो। 9 त्यो भेंडा़को पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरू देखें। ती आत्माहरू ती मारिएका मानिसहरूका थिए किनभने तिनीहरू परमेश्वरको सन्देश अनि तिनीहरूले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए। 10 यी आत्माहरूले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरूको न्याय गर्नमा अनि उनीहरूलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?” 11 त्यसपछि ती आत्माहरू प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरूलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरूका अझ कोही भाइहरू जसलाई तिनीहरू जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरूसित थिए। ती आत्माहरूलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो। 12 तब, त्यो भेंडा़को पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो। 13 आकाशका ताराहरू, तेज हावाले नेभाराको रुखबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा भरे। 14 आकाश पत्र बेह्रिए झैं हरायो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाँउबाट सरे। 15 तब समस्त मानिसहरू गुफाहरूमा अनि पर्वतका चट्टानहरूमुनि लुके। त्यहाँ संसारका राजाहरू, शासकहरू, सेनाध्यक्षहरू, अनि शक्ति सम्पन्न मानिसहरू थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए। 16 मानिसहरूले पर्वत अनि चट्टानहरूलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडा़को पाठाको क्रोधबाट बचाऊ। 17 तिनीहरूको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?” |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International