Online Bible

- Reklamy -

प्रकाश 3 - पवित्र बाइबल


सार्डिसको मण्डलीलाई येशूको पत्र

1 “सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख: “उहाँ जसकोमा सात आत्माहरू अनि सात ताराहरू छन् तिमीहरूलाइ यस्तो भनिरहनु भएकोछ तिमीहरूले गर्दै गरेका कुरा मलाई थाहा छ: “मानिसहरूले भन्दछन् कि तिमीहरू जीवित छौ। तर वास्तवमा तिमीहरू मृत हौ।

2 उठ! जब तिमीहरूसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरूका कार्यहरू परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्।

3 यसर्थ तिमीहरूले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमीहरू व्यूँझ र उठ नत्र म तिमीहरूकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरूले थाहा पाउने छैनौं।

4 “तर सार्डिसको तिमीहरूसित तिमीहरूको समूहमा कोही मानिसहरू छन् जसले तिनीहरू स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरू मसित हिँड्नेछन्। तिनीहरूले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरू त्यसका योग्य छन्।

5 हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरूले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरूको समक्ष भन्नेछु।

6 हरेक मानिस जसले यी कुराहरू सुन्छ आत्माले मण्डलीहरूलाई जे भनिरहेको छ उसले त्यो सुन्न पर्छ।


फिलाडेल्फियाको मण्डलीलाई येशूको पत्र

7 “फिलाडेल्फियाको मण्डलीलाइ यो लेख: “उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरूलाई यी कुराहरू भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।

8 “मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुशरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौ।

9 सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँच्चो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौ।

10 तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरूलाई दुःख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुःख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ।

11 “म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन।

12 मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु।

13 त्यो मानिस जसले यी कुराहरू सुन्छ मण्डलीहरूलाई आत्माले के भनी रहनु भएको छ त्यो सुन्नुपर्छ।


लाउडिसियको मण्डलीलाई येशूको पत्र

14 “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख: “आमिन एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरू भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँच्चो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ

15 “तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ।

16 तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु।

17 तिमीहरू दावी गर्छों तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ।

18 म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौ।

19 “जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर।

20 म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।

21 “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें।

22 प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy