Online Bible

- Reklamy -

प्रकाश 20 - पवित्र बाइबल


एक हजार वर्ष

1 मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अत्तल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्गलो पनि समातेको थियो।

2 त्यो स्वर्गदूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गदूतले त्यसलाई त्यो साङ्गलोले एक हजार वर्षको निम्ति बाँधे।

3 त्यो स्वर्गदूतले त्यो सर्पलाई त्यो अत्तल खाल्डामा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गदूतले सर्पलाई ताला लगाई दिए ताकि एक हजार वर्षसम्म राष्ट्रहरूलाई छल्न नसकोस्। एकहजार वर्षपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नुपर्छ।

4 तब मैले केही सिंहासनहरू जहाँ मानिसहरू बसेको देखें। यी मानिसहरू तिनीहरू थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरूको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरू येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरूले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरूले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरू फेरि जीवित भए अनि ख्रीष्टसँग एक हजार वर्ष सम्म शासन गरे।

5 एक हजार वर्ष पूरा नहुन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्। यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो।

6 ती मानिसहरू जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरू धन्य अनि पवित्र हुन्। यी मानिसहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरू परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरू हुनेछन्। तिनीहरूले एक हजार वर्षको निम्ति शासन गर्नेछन्।


शैतानको पराजय

7 जब एक हजार र्वष पूरा हुन्छ शैतानलाई उसको कैदबाट मुक्त गरिनेछ।

8 शैतान पृथ्वीका समस्त राष्ट्रहरू गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरू भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड़ लाग्नेछ अनि तिनीहरू समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।

9 शैतानको सेना पृथ्वी पारी गए अनि परमेश्वरका मानिसहरूका शिविर अनि परमेश्वरको प्यारो नगर वरिपरि एकत्रित भए। तर स्वर्गबाट आगो आयो अनि शैतानको सेनालाई ध्वंश पार्यो।

10 अनि शैतान जसले मानिसहरूलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै फ्याँकिएको थियो। त्यहाँ दिन रात सदासर्वदा तिनीहरूलाई सजाय भोगाइनेछ।


संसारको मानिसहरूको न्याय

11 तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।

12 अनि मैले ती महान अनि साधारण मानिसहरू जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरू पनि खुल्ला थिए। यी मरेका मानिसहरूलाई तिनीहरूले गरेका कर्महरूको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।

13 समुद्रले ती मृत मानिसहरूलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरूसँग भएका मृत मानिसहरू दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो।

14 अनि मृत्यु एवं पाताललाई अग्नि-कुण्डमा हालियो। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।

15 यदि कुनै मानिसको नाउँ जीवनको पुस्तकमा लेखिएको नभेट्टाइए त्यो मानिसलाई अग्नि-कुण्डमा हालिन्थ्यो।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy