Online Bible

- Reklamy -

प्रकाश 16 - पवित्र बाइबल


परमेश्वरको क्रोध भरिएका कचौराहरू

1 तब मैले मंदिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेऊ।”

2 पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दु:खदायक औ घिनलाग्दो घाउहरू भयो।

3 दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।

4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो।

5 तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें: “तपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो। तपाईं नै एक पवित्र हुनुहुन्छ। तपाईं न्यायहरू गर्नुमा सही हुनुहुन्छ,

6 तिनीहरूले तपाईंका पवित्र मानिसहरू अनि तपाईंका अगमवक्ताहरूको रगत बगाइदिए। अहिले तिनीहरूलाई तपाईंले त्यो रगत पिउन दिनु भएको छ। तिनीहरू त्यसको योग्य छन्।”

7 अनि मैले वेदीले यसो भन्दै गरेको सुनें, “हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान् तपाईंको न्याय सत्य अनि उचित छ।”

8 तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो।

9 मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।

10 पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके।

11 मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।

12 छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो।

13 तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुत्तो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के।

14 यी दुष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरू संसारका राजाहरूकहाँ जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरू बटुल्न जान्छन्।

15 “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाङ्गै हुने छैन अनि उसमा मानिसहरूले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”

16 त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।

17 सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।”

18 तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूईँचालो थियो।

19 त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो।

20 हरेक द्वीपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्।

21 ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy