भजनसंग्रह 8 - पवित्र बाइबलप्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन। 1 हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ। 2 साना केटा-केटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ। तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ, जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ। 3 हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु। अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु, 4 र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ? किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ? किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ? 5 तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो, अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो। 6 तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो। 7 सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि अधिकार गर्छन। 8 तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर र माछाहरूमाथि पनि अधिकार गर्छन्। 9 हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International