Online Bible

- Reklamy -

भजनसंग्रह 32 - पवित्र बाइबल


दाऊदको मस्किल भन्ने भजन।

1 त्यो मानिस खुशी हुन्छ, जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।

2 त्यो मानिस खुशी हुन्छ, जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।

3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।

4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।

5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!

6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।

7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ। तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ। यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।

8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु। म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।

9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ। ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ। ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्। तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ, जसले परमप्रभुमाथि भरोसा गर्छन्।

11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy