Online Bible

- Reklamy -

भजनसंग्रह 28 - पवित्र बाइबल


दाऊदको भजन।

1 हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ। म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु। मेरो प्रार्थनाहरू सुन्नकोलागि कान नथुन्नुहोस्! यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने, मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरू भन्दा पनि कमजोर छु।

2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। मप्रति दया दर्शाउनु होस्।

3 हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम” शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।

4 हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।

5 दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्। उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्। परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुने छ, अनि फेरि सम्वृद्धि बनाऊनु हुने छैन।

6 परमप्रभुको प्रशंसा गर। उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।

7 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि सम्पूर्ण हृदयले भरोसा गर्छु, उहाँले मलाई सहायता गर्नु हुन्छ, यसकारण म खुशी छु, र उहाँको प्रशंसाको गीत गाउँछु।

8 परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ। परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।

9 हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्। जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्। तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy