Online Bible

- Reklamy -

भजनसंग्रह 27 - पवित्र बाइबल


दाऊदको भजन।

1 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोसैसँग डराउने छैन।

2 दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्। तिनीहरूले मलाई तरवारले काट्न सक्छन्। मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्, अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।

3 तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

4 परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”

5 परमप्रभुले मलाई बचाउँनु हुन्छ। जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।

6 मेरा शत्रुहरूले मलाई घेरेका छन्। तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ। त्यसपछि म उहाँको पालमा बलि चढाउने छु। म आनन्दको जयकार सहित बलिदान गर्नेछु, म परमप्रभुको सम्मानमा भजन गाउनेछु।

7 हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्। मलाई जवाफ दिनुहोस्। मलाई कृपादान गर्नुहोस्।

8 हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु। म तपाईं समक्ष बोल्न आएँ।

9 हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्, मलाई साथ दिनुहोस्। मलाई टाढा नधकेल्नुहोस्, मलाई नत्याग्नु होस्, मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।

10 मेरो माता-पिताले मलाई छोडी गए। तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।

11 हे परमप्रभु, मेरा शत्रुहरू छन्। यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्। मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।

12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे। मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्। परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्।

13 मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।

14 परमप्रभुको सहयोगलाई पर्ख, बलियो र साहसी होऊ, अनि परमप्रभुको सहयोग पर्ख।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy