भजनसंग्रह 26 - पवित्र बाइबलदाऊदको भजन। 1 हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन। 2 हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्। 3 मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन, अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ। 4 म ती व्यर्थका मानिसहरू मध्येको होइनँ। म दुष्टहरूका संगतलाई घृणा गर्छु। 5 म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैनँ। 6 हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्, म तपाईंको वेदीको वरिपरि हिँड्न सकुँ। 7 हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु। म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो। 8 हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु। 9 हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्। 10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्। 11 तर म निर्दोष छु। यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्। 12 म सबै विपदहरूबाट सुरक्षित छु। हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु, त्यहाँ तपाईंको प्रशंसा गर्नेछु। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International