भजनसंग्रह 2 - पवित्र बाइबल1 अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्? 2 तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए। 3 ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं, तिनीहरूबाट अलग हौं।” 4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ। 5 तब परमेश्वर रिसाउनु हुन्छ, अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्। 6 अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें। अनि उसले सियोन पर्वतमा राज गर्नेछ। सियोन मेरो एक विशेष पर्वत हो।” 7 अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ। 8 यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्। 9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।” 10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्। 11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर। 12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International