Online Bible

- Reklamy -

भजनसंग्रह 144 - पवित्र बाइबल


दाऊदको भजन।

1 परमप्रभुको प्रशंसा गर, परमप्रभु मेरो चट्टान हुनुहुन्छ। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।

2 परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु, परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।

3 हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्? किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?

4 मानिसको जीवन हावाको झोंका मात्र हो। मानिसको जीवन अस्थायी छाँयाँ जस्तो मात्र हो।

5 हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा छुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।

6 परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्। तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।

7 परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्। मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्। मलाई ती परदेशीहरूबाट बचाउनु होस्।

8 ती शत्रुहरू झूटाहरू हुन्। तिनीहरूले जे कुरा गर्छन् तिनीहरू सत्य छैनन्।

9 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक, कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु। म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।

10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।

11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झूटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्।

12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।

13 हाम्रो भण्डारहरू बिभिन्न प्रकारका अन्नहरूले भरिएका छन्। हाम्रा भेंडाहरूले प्रसस्त पाठाहरू जन्माउँछन्। त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेंडाहरू होस्।

14 हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्। हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्, र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्। हाम्रा गल्लीहरूमा रूवा़-बासी हुनेछैन।

15 साँच्चो आशिष पाउनु कति असल कुरा हो। यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने, ती मानिसहरू आशिषित हुन्छन्।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy