Online Bible

- Reklamy -

हितोपदेश 9 - पवित्र बाइबल


ज्ञान र मूर्खता

1 ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी।

2 उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी।

3 तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई।

4 “तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ।” उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी।

5 “आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु।

6 अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिँड।”

7 अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।

8 अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्कायौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ।

9 ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।

10 परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।

11 किनभने ज्ञानले तिमीलाई लामो समय सम्म बाँच्न सहायता गर्नेछ र तिम्रो आयुमा बर्षहरू थपिने छन्।

12 यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।

13 मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।

14 ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे।

15 उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे,

16 “हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।

17 “बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।”

18 मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy