Online Bible

- Reklamy -

हितोपदेश 21 - पवित्र बाइबल

1 राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।

2 मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।

3 बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।

4 घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन दीपको सलेदोको काम गर्छन्।

5 लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।

6 झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।

7 दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।

8 दुष्ट मानिसहरू सधैँ अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।

9 एउटी झगडा़लु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।

10 दुष्ट मानिसहरू सधैँ खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।

11 दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझै ज्ञानी हुन्छन्।

12 परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।

13 यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।

14 गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।

15 न्यायले ईमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।

16 जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरूसँग समाप्त हुन्छ।

17 जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्।

18 एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस ईमान्दार मानिसको निम्ति हुनेछ।

19 छिटो रिसाउने र झगडा़लु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरुभूमिमा रहनु असल हुन्छ।

20 बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।

21 जो ईमान्दार जीवन जीउँछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।

22 एकजना ज्ञानी मानिसहरूले स-शस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन।

23 जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।

24 जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।

25 एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।

26 लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ।

27 दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दुष्ट अभिप्रायले चढाएको त झन् घृणित हुन जान्छ।

28 झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैँको निम्ति बोल्छ।

29 एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा ईमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।

30 कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।

31 मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy