Online Bible

- Reklamy -

गन्‍ती 9 - पवित्र बाइबल


निस्तार चाड़

1 इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको पहिलो महीनामा सीनै पहाडको मरुभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो,

2 “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ।

3 तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।”

4 यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए।

5 तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरुभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।

6 तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए।

7 ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”

8 मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।”

9 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,

10 “इस्राएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाढ मनाउनु पर्छ।

11 तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ।

12 तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्‌न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्।

13 तर यदि कुनै मानिस शुद्ध छ अनि टाढ़ा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ।

14 “यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”


आगो र बादल

15 पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो।

16 सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो।

17 जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिँड्थे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यहीं शिविर हाल्थे।

18 जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिँडे र जब उहाँले आज्ञा दिनुभयो मानिसहरू हिँड्न बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे।

19 कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सर्दैन थिए।

20 कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुकै आज्ञामा तिनीहरू सर्थे।

21 अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिँड्थे।

22 दुइ दिन, एक महिना अथवा पुरै एक बर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे।

23 परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy